अक्टोबर १४ देखि १७ सम्म टोयोटा, महिन्द्रा, अउडी र रेनोका चार नयाँ कार बजारमा आउने भएका छन् ।

टोयोटाले अक्टोबर १४ मा अपडेटेड ग्लान्जा सार्वजनिक गर्नेछ भने महिन्द्राले अक्टोबर १५ मा एक्सयूभी ३एक्सओको सीएनजी भर्सन बिक्रीमा ल्याउनेछ । त्यस्तै, अउडीको नयाँ क्यू३ अक्टोबर १६ र रेनो डस्टर हाइब्रिड अक्टोबर १७ मा सार्वजनिक हुनेछन् ।
१. नयाँ टोयोटा ग्लान्जा
टोयोटाको अपडेटेड ग्लान्जामा डिजाइन परिवर्तन र नयाँ फिचर थपिने अपेक्षा गरिएको छ । यसमा नयाँ मारुती बलेनोमा उपलब्ध हुने १.२ लिटरको तीन सिलिन्डर पेट्रोल इन्जिन प्रयोग हुन सक्नेछ ।
ह्याचब्याकको अगाडिको डिजाइन परिमार्जन हुनुका साथै हेडअप डिस्प्ले, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट, ९ इन्चको टचस्क्रिन र लेभल–२ एडास प्रविधि उपलब्ध हुने सम्भावना छ ।
२. महिन्द्रा एक्सयूभी ३एक्सओ सीएनजी
महिन्द्रा एक्सयूभी ३एक्सओ सीएनजी कम्पनीको फ्याक्ट्रीमै सीएनजी किट जडान भएर आउने पहिलो एसयूभी बन्नेछ । यसमा १.२ लिटरको टर्बोचार्ज्ड एमपीएफआई पेट्रोल इन्जिनमा आधारित पावरट्रेन प्रयोग हुन सक्नेछ ।
यो एसयूभी म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पमा उपलब्ध हुने अपेक्षा गरिएको छ । सीएनजी भर्सनमा ब्याजिङबाहेक बाहिरी डिजाइनमा ठूलो परिवर्तन नहुने जनाइएको छ ।
३. नयाँ अउडी क्यू३
अउडीको नयाँ क्यू३ परिमार्जित डिजाइन र थप सुविधासहित बजारमा आउनेछ । यसमा दुईवटा स्क्रिनसहितको नयाँ ड्यासबोर्ड, नयाँ स्टेयरिङ ह्विल, ड्युअल टोन लेदर सिट तथा वायरलेस फोन चार्जरसहितको परिमार्जित सेन्टर कन्सोल हुनेछ ।
यसमा २।० लिटरको टर्बो पेट्रोल इन्जिन दिइनेछ । सात स्पिड डीसीटी अटोमेटिक गियरबक्स र अउडीको क्वाट्रो अल ह्विल ड्राइभ प्रणालीसहित आउने यस इन्जिनले २०४ बीएचपी पावर र ३२० न्युटन मिटर टर्क उत्पादन गर्नेछ ।
४. रेनो डस्टर हाइब्रिड
रेनो डस्टर हाइब्रिडमा १.८ लिटरको पेट्रोल इन्जिनसँग दुईवटा इलेक्ट्रिक मोटर जडान गरिनेछ । यसमा १.४ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ ।
यसको हाइब्रिड प्रणालीले संयुक्त रूपमा १६० बीएचपी पावर र १७२ न्युटन मिटर टर्क उत्पादन गर्नेछ । एसयूभीमा मल्टिमोड अटोमेटिक गियरबक्स उपलब्ध हुनेछ ।
यी चारै मोडलले भारतीय बजारमा विभिन्न ग्राहक वर्गलाई लक्षित गर्नेछन् । यद्यपि, नेपालमा कहिले सार्वजनिक हुन्छन् र कति मूल्यमा उपलब्ध हुन्छन् भन्ने विषयमा भने थप जानकारी आउन बाँकी छ ।