सरकारको हालै सार्वजनिक भएको १०० बुँदे विशेष कार्यसूचीअन्तर्गत देशका सातै प्रदेशमा महिलाका लागि निःशुल्क सार्वजनिक यातायात सेवा पुर्याउने लक्ष्य राखिएको छ। सोही योजनाको पहिलो चरणका रूपमा उपत्यकाबाट यो सेवा सुरु गर्न लागिएको हो।
२५ बस सञ्चालन गर्ने लक्ष्य
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार, सरकारको नीति तथा कार्यक्रम र १०० दिने प्राथमिकताभित्र कुल २५ वटा ‘ब्लू बस’ सञ्चालन गर्ने लक्ष्य रहेको छ। यस सेवालाई व्यवस्थित बनाउन ‘साझा यातायात’ले आवश्यक परामर्श र वित्तीय सहमतिका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको छ। अर्थ मन्त्रालयबाट बजेटरी सहमति प्राप्त हुनासाथ पहिलो चरणमा आठ वटा बस सडकमा ओर्लिनेछन्।
कुन–कुन रुटमा चल्छन् बस ?
प्रारम्भिक चरणमा यात्रुको अत्यधिक चाप हुने उपत्यकाका मुख्य तीनवटा रुटहरूमा यी बसहरू सञ्चालन गरिनेछन् । त्यसमध्ये लगनखेल–बुढानीलकण्ठ रुटमा पहिलो चरणमा दुई वटा बस सञ्चालन हुनेछन्।
त्यस्तै, थानकोट–नागढुंगा–विमानस्थल रुटमा पनि दुईवटा बस सञ्चालन हुनेछन् । चक्रपथ (रिङरोड) रुटमा भने चार वटा बसले सेवा दिनेछन्। जसमा दुई वटा बस सुल्टो दिशा र दुई वटा बस उल्टो दिशाबाट घुम्ने गरी रुट तय गरिएको छ।
सुरक्षा र सहजता मुख्य प्राथमिकता
सार्वजनिक सवारी साधनमा महिलामाथि हुने दुर्व्यवहार अन्त्य गरी उनीहरूको यात्रालाई सुरक्षित र आरामदायी बनाउनु यो योजनाको मुख्य ध्येय रहेको मन्त्रालयले जनाएको छ। यो सेवा पूर्ण रूपमा निःशुल्क हुने भएकाले दैनिक यात्रा गर्ने कामकाजी महिला र विद्यार्थीहरू यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।
देशभर विस्तार गर्ने रणनीति
काठमाडौं उपत्यकामा यो सेवाको प्रभावकारिता र व्यवस्थापनको सूक्ष्म मूल्यांकन गरेपछि सरकारले यसलाई सातै प्रदेशका प्रमुख सहरहरू र प्रादेशिक केन्द्रहरूमा विस्तार गर्ने रणनीति बनाएको छ। यस कदमले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप समावेशी र महिलामैत्री बनाउने अपेक्षा गरिएको छ।