कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक पर्यटनको योगदान २.६५ प्रतिशत मात्रै

Jul 02, 2026 05:51 PM merolagani



राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ ले नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटनको बलियो उपस्थिति पुष्टि गरेको छ । सर्वेक्षणका अनुसार नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ५२.४ प्रतिशत अर्थात् ३६ लाख २१ हजार घरपरिवारले वर्षभरिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएका छन।

आन्तरिक पर्यटनमार्फत कुल पर्यटकीय उपभोग ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ। यसबाट प्राप्त हुने कुल पर्यटन मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ, जसले आर्थिक वर्ष २०२४÷२५ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा २.६५ प्रतिशत योगदान पुर्याएको छ।

नेपाली घरपरिवारले पर्यटनसम्बन्धी गतिविधिमा वार्षिक कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । खर्चको सबैभन्दा ठूलो हिस्सा ३१.७८ प्रतिशत स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा हुने गरेको छ, जबकि किनमेलमा २६ प्रतिशत खर्च हुने गरेको पाइएको छ। रात बिताउने आन्तरिक भ्रमणको प्रमुख उद्देश्य साथीभाइ तथा आफन्तसँगको भेटघाट ६५.५ प्रतिशत रहेको छ भने सोही दिन फर्किने भ्रमणको मुख्य उद्देश्य किनमेल ३२.६ प्रतिशत रहेको छ। रात बिताउने आन्तरिक भ्रमणको औसत बसाइ ५.३३ दिन रहेको छ।

काठमाडौं, चितवन र कास्की रात बिताउने आन्तरिक पर्यटनका प्रमुख गन्तव्यका रूपमा रहेका छन्, जसमा कास्की मनोरञ्जन र बिदा मनाउनेहरूका लागि पहिलो रोजाइमा छ । पर्यटकहरूमा जेनेरेसन जेड (१३–२८ वर्ष) को बाहुल्यता २६.६ प्रतिशत रहेको छ, जसले युवा पुस्तामा भ्रमणको उच्च आकर्षण देखाउँछ। आन्तरिक पर्यटनमा सार्वजनिक सवारी साधनको भूमिका उच्च छ, किनकि कुल यातायात खर्चको ६८.७ प्रतिशत हिस्सा सार्वजनिक सवारीमा नै खर्च हुने गरेको छ। यो सर्वेक्षण नेपालमा आन्तरिक पर्यटनको आकार, संरचना र अर्थतन्त्रमा यसको योगदान मापन गर्ने पहिलो राष्ट्रियस्तरको विस्तृत प्रयास हो, जसका नतिजाहरू अब आगामी दिनमा पर्यटन नीति निर्माण, पूर्वाधारको विकास र रोजगारी सिर्जनाका लागि आधारभूत सामग्रीका रूपमा प्रयोग हुने अपेक्षा गरिएको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।