सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपदमा हेलिकप्टरबाट उद्धार गर्ने गृहमन्त्री सुधन गुरुङले संसदमा प्रतिवद्धता जनाएपनि हालै सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक गाडी कर्णाली नदीमा खस्दा सरकारले उद्धारका लागि हेलिकप्टर सञ्चालन गर्न नसकेकोमा आपत्ति जनाए । नेता शाहीले मन्त्रीहरु हेलिकप्टरमा सवार भइरहँदा कर्णाली नदीमा नागरिकहरु डुबेर मर्नुपर्ने अवस्था आएको भन्दै यस दुर्घटनाबारे स्पष्ट जवाफका लागि सरकारलाई रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग पनि गरे । उनले उक्त दुर्घटना पछि गरिएको फोन समेत नउठाएर सरकारले नागरिकको जीवन रक्षाको विषयमा खेलवाड गरेको पनि बताए ।
नेता शाहीले भने,‘आज मन्त्रीहरु हेलिकप्टरमा सवार हुँदा कर्णाली नदीमा मान्छे डुब्दा उद्धार गर्न नहुने ? के कर्णालीका जनता यो देशको नागरिक होइनन ? यसको जवाफ आज आउनुपर्दछ । यसको जवाफका लागि सम्माननीय सभामुखज्यूले सरकारलाई रुलिङ गर्नुपर्दछ । कर्णालीका नागरिकले बाँच्नु पाउने अधिकार छ कि छैन ? कर्णालीका युवाहरु यो देशको भविष्य हुन वा होइनन् ? कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो ? आज मैले बोलेको भाषा त्यही कर्णालीको हो सभामुख महोदय । नेपालको सभ्यता त्यही कर्णालीको हो सभामुख महोदय । कर्णाली नेपालमा पर्दछ भने विपद्को बेलामा किन राज्यले बेवास्त गर्छ ? सरकारले यही संसदमा विपद् व्यवस्थापनका लागि हेलिकप्टर संचालन गर्ने भनेर ठूला गफ हाँक्यो । हामीले गफ सुन्यौँ । र तालि पड्कायौँ सभामुख महोदय । तर प्राथमिकतामा कर्णाली परेन, देखिएन । आकाशमा मन्त्रीहरु उडिरहँदा नदीमा नागरिकहरु डुबिरहेका थिए सभामुख महोदय । यो एउटा दुर्घटना मात्रै होइन, राज्यको संवेदनशीलता हिनताको सबैभन्दा ठूलो प्रमाण हो । त्यसैले सम्माननीय सभामुखमार्फत सरकारको स्पष्ट जवाफ माग गर्न चाहन्छु–कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो सभामुख महोदय । फोन उठदैन । यो भन्दा पनि डोल्पामा एक जना नागरिकको दुर्घटनामा ज्यान गयो । गृहमन्त्रीले यही आएर बोल्नु भयो, हेलिकप्टरले उद्धार गर्छ भनेर ।’
नेता शाहीले राज्यले नागरिकको जीवन बचाउने कुरामा पनि संवेदनहीनता प्रकट गरेको गुनासो पनि गरे।