लचिलो मौद्रिक नीति आउने अपेक्षामा बढ्यो बजार

Jul 07, 2026 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि लचिलो मौद्रिक नीति ल्याउने अपेक्षासँगै यस दिन बजार सकारात्मक भएको हो। राष्ट्र बैंकले विज्ञ र लगानीकर्ताहरुको सुझाव समेटेर लचिलो र सुधारमुखी नीति ल्याउने अपेक्षा गरिएको छ। आगामी मौद्रिक नीति सुस्ताएको उत्पादन, घट्दो माग र शिथिल शेयरबजारलाई पुनर्जीवन दिने दिशामा केन्द्रित हुने लगानीकर्ताहरुको अपेक्षा छ। सोही अपेक्षामा यस दिन बजार बढेको हो। केन्द्रिय बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।

मंगलबार नेप्से परिसूचक २४.५७ अंक बढेर २६५१.६८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५२ स्टकको ७२ हजार २२ पटकको कारोबारमा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँबराबरको ९५ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कालंगा हाइड्रोको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६७ रुपैयाँ ३० पैसा बढेर ५१६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आरबिबि फोकस ४० को इकाईमूल्य करिब १४ प्रतिशत बढेको छ भने सानिगाड हाइड्रोको शेयरमूल्य साढे १० प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० शीर्ष स्थानमा रहेको छ। यस दिन २० करोड ७५ लाख रुपैयाँबराबरको सो डिबेञ्चर कारोबार भएको छ। त्यस्तै, यस दिन करिब १८ करोड रुपैयाँको १०.३५ प्रतिशत एग्रीकल्चर बैंक डिबेञ्चर २०८३ कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ