सरकारले अन्तिम समयमा आएर खर्च हुने परम्परा कम गर्न आर्थिक वर्ष सकिनुको एक हप्ता अगाडि बजेट खर्च गर्न नपाइने व्यवस्था गरेको छ । लेखा नियन्त्रकको कार्यालयले बिहीवारबाटै सर्कुलर गरेर बजेट खर्च गर्न रोक लगाइसकेको छ । आजबाट सरकारी खाता एक हप्ताका लागि बन्द हुन्छ ।
चालु आर्थिक वर्षमा भने पुँजीगततर्फ भने मात्र ४४.५१ प्रतिशत मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा सरकारले भने १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।
यता चालुतर्फ भने केही बढी खर्च गरेको देखिएको छ । चालुतर्फ आर्थिक वर्षमा ८८.३ प्रतिशत बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा १० खर्ब ४२ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।
वित्तीय व्यवस्थापन भने ९०.८ प्रतिशत रहेको छ । वित्तीय व्यवस्थापनको लक्ष ३ खर्ब ७५ खर्ब २४ करोड २० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्तिमसम्ममा ३ खर्ब ४० अर्ब ७२ करोड ३९ लाख रुपैयाँ हरेको छ ।
असारमा मात्रै ११ प्रतिशत खर्च
बालेन्द्र सकारको अर्थ विज्ञ अर्थमन्त्रीले समेत अन्तिम समय अर्थात असारमा मात्र पूरै ११.१३ प्रतिशत बजेट खर्च गरेका छन् । जेठ मसान्तसम्ममा पूरै बजेटको ६९.५६ प्रतिशत बजेट खर्च भएकोमा आर्थिक वर्षको अन्तिम खर्च गर्ने दिनसम्म ७९.०४ प्रतिशत बजेट खर्च भएको छ ।
यो एक महिनाको अवधिमा मात्र २ खर्ब १८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । अन्तिम समयमा खर्च हुने पुँजीगततर्फको बजेट हेर्ने हो भने त झनै भयावह देखिन्छ । एक महिनामा मात्र करिव २१ प्रतिशत पुँजीगत खर्च भएको छ । जेठ मसान्तसम्ममा पुँजीगत खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख (२३.५३ प्रतिशत) रहेकोमा एक महिनामा मात्र पुँजीगत ४८ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ (२०.९८ प्रतिशत) खर्च भएको छ ।
चालुतर्फ भने केही कम खर्च भएको छ । चालुतर्फ एक महिनामा ११.३९ प्रतिशत बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । जेठ मसान्तसम्ममा चालुतर्फ ९ खर्ब ८ अर्ब २६ करोड ८१ लाख रुपैयाँ (७६.९१ प्रतिशत) खर्च भएकोमा असारमा मात्र १ खर्ब ३४ अर्ब ५८ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।
एकै दिन ३३ अर्ब १६ करोड बजेट खर्च
सरकारी खाता चल्ने अन्तिम दिन मात्र बजेटको ठूलो खर्च भएको छ । बिहीवार मात्र एकै दिन सरकारी खाताबाट ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगत १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ छ भने चालुतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ भने एकै दिनमा २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ ।