बैंक खाता जुनसुकै शाखा वा मोबाइल एपबाट बन्द गर्न र ब्युँताउन मिल्ने

Jul 11, 2026 07:25 AM Merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रहेका निष्कृय खाताको संख्या कम गर्न र ग्राहकलाई सहज सुविधा दिन नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै नयाँ बुँदा थप गरेको हो।

नयाँ व्यवस्था अनुसार अब ग्राहकले आफ्नो बैंक खाता सम्बन्धित संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल र वेब एप्लिकेसन मार्फत समेत सहज रूपमा बन्द गर्न सक्नेछन्।

ग्राहकले उपस्थित भई वा प्रविधि मार्फत खाता बन्द गर्न अनुरोध गरेमा उक्त खातामा रहेको रकम निजले चाहेको अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसैगरी, ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट ग्राहक पहिचान गरी आफ्नो निष्कृय खाता सहज रूपमा पुनः सक्रिय गर्न सक्ने व्यवस्था समेत मिलाउनुपर्नेछ। केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्कृय खाताहरू न्यून गर्नका लागि विशेष कार्ययोजना बनाई २०८३ साल पुस मसान्तसम्ममा अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।

खाताहरू निष्कृय हुन नदिनका लागि सक्रिय खाता निष्कृय हुनुभन्दा अगाडि नै कल, सन्देश (एसएमएस), इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ। साथै, निष्कृय भइसकेका खाताहरू पुनः सक्रिय गराउनका लागि कम्तिमा ६ महिनाको अन्तरालमा ग्राहकलाई अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख समेत राख्नुपर्ने व्यवस्था गरिएको छ। प्रविधिको दुरुपयोग र वित्तीय अपराध रोक्न राष्ट्र बैंकले थप कडाइ गरेको छ। निष्कृय भई पुनः सञ्चालनमा आएका खाताहरूमा हुन सक्ने अस्वभाविक कारोबारको निगरानी गर्ने प्रणाली विकास गर्न बैंकहरूलाई भनिएको छ।

निष्कृय खाताको दुरुपयोग गरी हुन सक्ने शङ्कास्पद आर्थिक कारोबार (मनि म्युल) तथा वित्तीय अपराधका सम्बन्धमा जनचेतना जगाउन नियमित रूपमा सामग्री निर्माण गरी प्रसारण गर्नुपर्नेछ। यस्ता गैरकानुनी वित्तीय क्रियाकलाप पहिचान र न्यूनीकरणका लागि बैंकहरूले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि समेत गर्नुपर्ने निर्देशनमा उल्लेख छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।