फिफा विश्वकप २०२६ः ‘सुपर–सब’ मिकेल मेरिनो पुनः चम्किँदा स्पेन सेमिफाइनलमा

Jul 11, 2026 04:53 AM Merolagani



फिफा विश्वकप २०२६ को दोस्रो क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमको कडा चुनौतीलाई २–१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

क्यालिफोर्नियाको लस एन्जलस स्टेडियममा शनिबार बिहान खेलिएको यस रोमाञ्चक महाभिडन्तमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले खेलको अन्तिम क्षणहरूमा निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। यस जितसँगै स्पेनले मंगलबार ड्यालासमा हुने पहिलो सेमिफाइनल खेलमा फ्रान्ससँगको बहुप्रतीक्षित भिडन्त पक्का गरेको छ।

खेलको सुरुदेखि नै स्पेनले आक्रामक रणनीति अपनाएको थियो। ३०औँ मिनेटमा लामिन यमाल र डानी ओलमोको मुभमा सिर्जना भएको बल रिबाउन्ड भएर आएपछि फाबियान रुइजले उत्कृष्ट प्रहार गर्दै स्पेनलाई १–० को अग्रता दिलाए। पहिलो हाफ सकिनु ठिक अघि ४१औँ मिनेटमा बेल्जियमले खेलमा बराबरी गर्‍यो। केभिन डे ब्रुइने र ट्रोसार्डको पासमा युवा स्ट्राइकर चार्ल्स डे केटेलारेले सानदार हेडिङ गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए।

दोस्रो हाफमा दुवै टोलीले गोलका धेरै अवसरहरू सिर्जना गरे। खेलको ७१औँ मिनेटमा बेल्जियमका मुख्य गोलकिपर थिबाउट कोर्तुवा घाइते भएर मैदानबाट बाहिरिनु बेल्जियमका लागि ठूलो झट्का बन्यो र उनको ठाउँमा युवा गोलकिपर सेन्ने लामेन्स मैदान प्रवेश गरे। खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिइरहेका बेला स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले ८५औँ मिनेटमा मिकेल मेरिनोलाई मैदानमा पठाए। मैदान छिरेको ठीक दुई मिनेटपछि ८८औँ मिनेटमा बेल्जियमका वैकल्पिक गोलकिपर लामेन्सले बल क्लियर गर्न नसकेको फाइदा उठाउँदै मिकेल मेरिनोले बलियो प्रहारमार्फत गोल गरी स्पेनलाई २–१ को रोमाञ्चक जित दिलाए।

मिकेल मेरिनोले केही दिनअघि मात्र राउन्ड अफ १६ को खेलमा पोर्चुगलविरुद्ध पनि अतिरिक्त समयमा निर्णायक गोल गर्दै स्पेनलाई बचाएका थिए। उनी यस विश्वकपमा स्पेनका लागि सबैभन्दा भरपर्दा ‘सुपर–सब’ सावित भएका छन्।

क्वार्टरफाइनलमा बेल्जियमको यात्रा समाप्त गर्दै अघि बढेको स्पेनले अब फाइनल प्रवेशका लागि आगामी मंगलबार (जुलाई १४) मा ड्यालासमा साविक उपविजेता फ्रान्सको सामना गर्नेछ। फ्रान्सले हिजो नै मोरक्कोलाई २–० ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ