टाइम फर्मास्युटिकल्सको आईपीओ मूल्य ४५० रुपैयाँ तय, सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने

Jul 13, 2026 03:09 PM Merolagani



बुक बिल्डिङ विधिमार्फत साधारण शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको 'कटअफ' मूल्य तय भएको छ। संस्थागत लगानीकर्ताहरूबीच भएको बोलकबोलमार्फत कम्पनीको प्रतिशेयर कटअफ मूल्य ५०० रुपैयाँ निर्धारण गरिएको हो।

धितोपत्र बोर्डको व्यवस्था अनुसार, संस्थागत लगानीकर्ताले कायम गरेको कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई शेयर बिक्री गर्नुपर्ने हुन्छ। यस अनुसार सर्वसाधारणले टाइम फर्मास्युटिकल्सको शेयर प्रतिशेयर ४५० रुपैयाँमा पाउनेछन्।

कम्पनीले कुल १० लाख ८६ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो। जुन कम्पनीको जारी पूँजी ५३ करोड रुपैयाँको २०.५० प्रतिशत हो। यसमध्ये ४० प्रतिशत (४ लाख ३४ हजार ६०० कित्ता) संस्थागत लगानीकर्तालाई बिक्री गरिसकिएको छ भने बाँकी ६० प्रतिशत अर्थात् ६ लाख ५१ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। बुक बिल्डिङ विधिबाट निष्कासन हुने शेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

नेप्से स्रोतका अनुसार, कम्पनीको शेयर खरिदका लागि ४४ वटा योग्य संस्थागत लगानीकर्ताले आशयपत्र पेस गरेका थिए। असार २२ देखि २६ गतेसम्म चलेको बोलकबोल प्रक्रियामार्फत यो मूल्य र परिमाण तय भएको हो। अब कम्पनीले सर्वसाधारणमा शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिनेछ।

कम्पनीको वित्तीय अवस्था
आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उत्साहजनक देखिएको छ:

  • प्रतिसेयर नेटवर्थ: १६७.५१ रुपैयाँ

  • प्रतिसेयर आम्दानी (EPS): १०.२३ रुपैयाँ

  • सञ्चित नाफा: २२ करोड ८२ लाख रुपैयाँ

वि.सं. २०५२ मा स्थापना भएको टाइम फर्मास्युटिकल्सको उत्पादन कारखाना नवलपरासीको गैँडाकोटमा रहेको छ। कम्पनीले हाल २०० भन्दा बढी प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ। स्वदेशी बजारका साथै यसले चीन र भारतलगायतका देशहरूमा समेत औषधि निर्यात गर्दै आएको छ।

कम्पनी नेप्सेको 'उत्पादन तथा प्रशोधन' समूहमा सूचीकृत हुनेछ। यसको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।