धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM Merolagani



सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ। 

लामो समयको नेतृत्व विहीनता र नीतिगत अन्योल चिर्दै नयाँ अध्यक्षका रूपमा गोपाल भट्टको आगमनसँगै बोर्डले बजार सुधारका लागि 'आक्रामक' योजनाहरू सहितको प्याकेज अघि सार्ने तयारी गरेको हो। गत असार २५ गते बोर्डले एक विज्ञप्ति जारी गर्दै 'पूँजी बजार विकास मार्गचित्र' सार्वजनिक गर्ने प्रतिबद्धता जनाइसकेको छ। सोही प्रतिबद्धता अनुसार बोर्डले यसै साता तीन वटा महत्त्वपूर्ण दस्ताबेजहरू सार्वजनिक गर्ने तयारी गरिरहेको बुझिएको छ।

#

यसै साता आउँदै छन् तीन महत्त्वपूर्ण दस्ताबेज
बोर्डका उच्च तहका कर्मचारीका अनुसार अध्यक्ष भट्टले पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउन दीर्घकालीन, मध्यकालीन र अल्पकालीन गरी तीनवटा फरक दस्ताबेजहरू एकैसाथ ल्याउन लागेका हुन्। स्रोतका अनुसार मंगलबार वा बुधबारभित्र यी दस्ताबेजहरू सार्वजनिक हुने सम्भावना छ। जसमा दीर्घकालीन ब्लु प्रिन्ट (रणनीति), कार्य योजना (रोडम्याप) र  नयाँ नीति तथा कार्यक्रम समावेश हुने छन्। 

दीर्घकालीन ब्लु प्रिन्ट (रणनीति): यो दस्ताबेज पूँजी बजारको आगामी ४ देखि ५ वर्षको भविष्य निर्धारण गर्ने गरी तयार पारिँदै छ। यसले बजारको संरचनागत सुधार, नयाँ उपकरणहरूको भित्र्याउने योजना र अन्तर्राष्ट्रिय स्तरको नियामक व्यवस्थाको खाका प्रस्तुत गर्नेछ।

कार्य योजना (रोडम्याप): ब्लु प्रिन्टले देखाएको बाटोमा कसरी हिँड्ने भन्ने विस्तृत योजना यसमा हुनेछ। यसले समयबद्ध रूपमा कुन काम कहिलेसम्म सम्पन्न गर्ने भन्ने 'डेडलाइन' तय गर्नेछ।

नयाँ नीति तथा कार्यक्रम: आर्थिक वर्ष २०८३/८४ का लागि बोर्डको वार्षिक नीति तथा कार्यक्रम पनि यसै साता सार्वजनिक गर्दै छ। यसले चालु वर्षमा गरिने नीतिगत परिवर्तन र प्राथमिकताहरूलाई समेट्नेछ।

यसअघि बोर्डले विज्ञप्ति मार्फत नै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, संस्थागत सुशासन सम्बन्धी निर्देशिका र धितोपत्र सम्बन्धी ऐनमा समसामयिक परिमार्जन गर्ने कार्य सुरु भइसकेको जानकारी दिएको थियो । यी तीन दस्ताबेजले ती कानुनी सुधारका प्रक्रियालाई थप प्रस्ट पार्ने अपेक्षा गरिएको छ।

लगानीकर्ताको आशंका र कर्मचारीको उत्साह
नयाँ अध्यक्षका रूपमा गोपाल भट्टको नियुक्ति भएपछि आम लगानीकर्ताहरू भने अझै 'पर्ख र हेर' को अवस्थामा छन्। बजार लगातार ओरालो लागिरहेको र नीतिगत अस्पष्टता कायमै रहेकाले लगानीकर्ताहरू भट्टको कार्यशैली र आगामी योजना नआउन्जेल पूर्ण रूपमा आश्वस्त हुन सकेका छैनन्। बजारमा व्याप्त निराशालाई चिर्न नयाँ नेतृत्वले मनोवैज्ञानिक रूपमा पनि लगानीकर्ताको मनोबल बढाउनुपर्ने चुनौती छ। सोही कारण पनि एकै पटक धेरै नयाँ योजनाहरू अघि सार्न लागिएको बताइएको छ। 

यस अघि पनि योजनाहरू ल्याउने गरिएको भए पनि ती विषय कार्यान्वयनमा जान ढिलाइ हुने गरेको थियो। नीति कार्यक्रम वर्षै पिछे आउने तर ती कार्यक्रमहरू अर्को वर्ष लाग्दा समेत पुरा नहुने र पुन दोहोरिँदै आएका छन्। जसले गर्दा पनि लगानीकर्ताहरूले योजनालाई खासै महत्त्व दिएका छैनन्। जसले गर्दा दोस्रो बजारमा यसको असर देखिएको छैन। यति बेला लगानीकर्ता बोल्ने र दस्ताबेज सार्वजनिक गर्ने जस्ता उधारो बाचालाई पत्याउने मुडमा देखिँदैनन्। 

यद्यपि, बोर्डको आन्तरिक वातावरणमा भने यति बेला निकै सकारात्मक परिवर्तन देखिएको छ। विगतमा नेतृत्वसँगको असमझदारी र सेवा सुविधाका कारण आन्दोलित हुने गरेका बोर्डका कर्मचारीहरू यस पटक भने निक्कै उत्साहित देखिएका छन्। कर्मचारीहरूको यो उत्साहको पछाडि अध्यक्ष भट्टले चालेको एक रणनीतिक कदम रहेको छ। कार्यभार सम्हालेको सुरुवाती दिनमै अध्यक्षले कर्मचारीका विभिन्न समस्या, वृत्ति विकास र सेवा सुविधाका विषयमा यस अघि राखिँदै आएको मागहरूका बारेमा जानकारी लिए। कर्मचारी स्रोतका अनुसार अध्यक्ष भट्टले ती समस्या समाधानका लागि केवल १५ दिनको समय मागेका छन्। "अध्यक्षज्यूले हाम्रो मागहरू बुझ्नुभएको छ र १५ दिनभित्र ठोस नतिजा दिने प्रतिबद्धता जनाउनुभएको छ, त्यसैले हामी अहिले निकै उत्साहित छौँ र काम गर्ने माहौल सकारात्मक बनेको छ," एक कर्मचारीले बताए ।

यसअघिका नेतृत्वहरूले कर्मचारीको मागलाई उपेक्षा गर्ने गरेको आरोप लाग्दै आएको सन्दर्भमा भट्टले कर्मचारीको मनोबल उच्च राख्न चालेको यो कदमलाई बोर्डभित्र 'सुधारको पहिलो खुड्किलो' का रूपमा हेरिएको छ। भट्टले आउने बित्तिकै आम लगानीकर्ताको मनोबल उकास्न नसके पनि सुरुवाती दिन देखि नै कर्मचारीलाई भने उत्साही बनाउन सफल देखिएका छन्। 

हुन त नेपाल धितोपत्र बोर्ड यति बेला इतिहासकै संवेदनशील मोडमा छ। एकातिर लगानीकर्ताको गुमेको विश्वास फर्काउनु पर्ने दबाब छ भने अर्कोतिर आन्तरिक प्रशासनलाई चुस्त राख्दै आधुनिक प्रविधिमैत्री बजार बनाउनु पर्ने चुनौती छ। कर्मचारीको उत्साहलाई कामको नतिजामा बदल्न र लगानीकर्ताको आशंकालाई विश्वासमा परिणत गर्न अध्यक्ष भट्ट कति सफल हुन्छन् ? त्यो भने यसै साता सार्वजनिक गर्ने भनिएका तीन दस्ताबेजहरू प्रति लगानीकर्ताहरूले दोस्रो बजार मार्फत जनाउने प्रतिक्रियाले नै तय गर्ने छ।