स्वेट शेयर भन्नाले त्यस्ता इक्विटी शेयरलाई जनाउँछ, जुन कम्पनीले कर्मचारी, निर्देशक वा योगदानकर्तालाई नगदको सट्टा उनीहरूको ज्ञान, अनुभव, प्राविधिक सीप वा बौद्धिक सम्पत्तिको बदलामा प्रदान गर्छ। विकसित मुलुकहर,जस्तै अमेरिका, बेलायत र भारतमा यो प्रणाली लामो समयदेखि प्रयोग हुँदै आएको छ। विशेषगरी स्टार्टअप कम्पनीहरूले प्रारम्भिक चरणमा नगद अभाव हुँदा संस्थापक, प्राविधिक विशेषज्ञ र प्रारम्भिक योगदानकर्तालाई शेयरमार्फत पारिश्रमिक प्रदान गर्ने गर्छन्। यसले उनीहरूको व्यक्तिगत सफलता कम्पनीको विकाससँग प्रत्यक्ष रूपमा जोडिन्छ।
नेपालको सन्दर्भमा स्वेट शेयरको कानुनी मान्यता पूँजी बजार र कर्पोरेट शासन प्रणालीको विकासका लागि महत्वपूर्ण कदम हो। कम्पनी ऐन तथा यसका हालसालैका संशोधनहरूले गैर–नगद योगदान—जस्तै प्राविधिक ज्ञान, बौद्धिक सम्पत्ति र व्यावसायिक सेवाको बदलामा शेयर जारी गर्न अनुमति दिएको छ। यसले स्पष्ट पार्छ कि स्वेट शेयर नेपालमा कानुनी मात्र होइन, उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्ने एक महत्वपूर्ण माध्यम पनि हो।
यद्यपि, स्वेट शेयर जारी गर्ने प्रक्रिया पूर्ण रूपमा नियमनभित्र रहन्छ। नेपालमा कम्पनीहरूले बोर्ड अफ डाइरेक्टर र शेयरधनीहरूको स्वीकृति लिनु, स्वतन्त्र मूल्यांकन गराउनु, तथा सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्नु अनिवार्य हुन्छ। साथै, स्वेट शेयरको सीमा पनि निर्धारण गरिएको छ, सामान्य कम्पनीका लागि कुल चुक्ता पूँजीको करिब २० प्रतिशतसम्म र स्टार्टअपका लागि ४० प्रतिशतसम्म। यी व्यवस्थाहरूले दुरुपयोग रोक्न र लगानीकर्ताको हित संरक्षण गर्न मद्दत गर्छन्।
स्वेट शेयरका धेरै सकारात्मक पक्षहरू छन्, विशेषगरी स्टार्टअप र विकासशील व्यवसायका लागि। पहिलो, यसले नगद खर्च घटाउँछ। धेरै नयाँ व्यवसायसँग पर्याप्त पूँजी हुँदैन, जसले गर्दा उनीहरूले दक्ष जनशक्ति राख्न सक्दैनन्। यस्तो अवस्थामा स्वेट शेयरमार्फत उनीहरूले आवश्यक प्रतिभा भित्र्याउन सक्छन्। उदाहरणका लागि, कुनै प्रविधि कम्पनीले आफ्नो मुख्य सफ्टवेयर विकास गर्ने प्रोग्रामरलाई नगदको सट्टा शेयर प्रदान गर्न सक्छ।
दोस्रो, यसले दक्ष जनशक्ति आकर्षित गर्न र टिकाइ राख्न सहयोग गर्छ। नेपालमा ‘ब्रेन ड्रेन’ ठूलो समस्या हो, जहाँ दक्ष जनशक्ति विदेश पलायन हुने गर्छ। स्वेट शेयरमार्फत कम्पनीले कर्मचारीलाई स्वामित्वको अनुभूति दिन सक्छ, जसले उनीहरूलाई कम्पनीसँग दीर्घकालीन रूपमा जोडेर राख्न मद्दत गर्छ।
तेस्रो, यसले सरोकारवालाहरूको हितलाई एउटै दिशामा उन्मुख गराउँछ। कर्मचारी र व्यवस्थापनले जब स्वामित्व प्राप्त गर्छन्, तब उनीहरू कम्पनीको दीर्घकालीन सफलता सुनिश्चित गर्न थप जिम्मेवार बन्छन्। यसले कर्पोरेट गभर्नेन्सलाई पनि मजबुत बनाउँछ।
तर, यी फाइदाहरूका बाबजुद स्वेट शेयरसँग सम्बन्धित केही चुनौती र जोखिमहरू पनि छन्। सबैभन्दा प्रमुख समस्या हो स्वामित्वको क्षयीकरण। नयाँ शेयर जारी गर्दा पुराना शेयरधनीहरूको स्वामित्व प्रतिशत घट्छ, जसले असन्तुष्टि उत्पन्न गर्न सक्छ।
अर्को महत्वपूर्ण चुनौती हो मूल्यांकन। नगद लगानीको मूल्य स्पष्ट हुन्छ, तर सीप, विचार वा बौद्धिक योगदानको मूल्य निर्धारण गर्नु जटिल हुन्छ। गलत मूल्यांकनले विवाद निम्त्याउन सक्छ र शेयर वितरणमा असमानता ल्याउन सक्छ।
नेपालको पूँजी बजारमा स्वेट शेयरको प्रभाव मिश्रित हुन सक्छ। सकारात्मक पक्षमा, यदि लगानीकर्ताले कम्पनीले दक्ष जनशक्ति आकर्षित गर्न स्वेट शेयर प्रयोग गरेको देखे भने, यसले कम्पनीको भविष्य राम्रो हुने संकेत दिन सक्छ र शेयर मूल्य बढ्न सक्छ। तर, नकारात्मक रूपमा, लगानीकर्ताले यसलाई स्वामित्व घट्ने संकेतका रूपमा पनि लिन सक्छन्, जसले बजारमा नकारात्मक प्रभाव पार्न सक्छ।
नेपालको शेयर बजार अझै पनि पूर्ण रूपमा परिपक्व नभएको र धेरै हदसम्म अनुमानमा आधारित भएको कारण, स्वेट शेयरसम्बन्धी जानकारीको अभावले बजारमा भ्रम सिर्जना गर्न सक्छ। त्यसैले कम्पनीहरूले स्पष्ट जानकारी र पारदर्शिता कायम गर्नु अत्यन्त आवश्यक हुन्छ।
कर सम्बन्धी पक्ष पनि महत्वपूर्ण छ । स्वेट शेयरबाट प्राप्त लाभलाई आयकर ऐनअनुसार करयोग्य आय मानिन्छ। यसले गर्दा शेयर पाउने व्यक्तिले नगद प्राप्त नगरे पनि कर तिर्नुपर्ने हुन्छ, जुन प्रारम्भिक चरणका स्टार्टअपका लागि चुनौतीपूर्ण हुन सक्छ।
कानुनी प्रक्रिया र प्रशासनिक जटिलता पनि अर्को चुनौती हो। साना तथा मझौला व्यवसायका लागि मूल्यांकन, स्वीकृति र कागजी प्रक्रिया पूरा गर्नु खर्चिलो र जटिल हुन सक्छ।
अन्ततः, स्वेट शेयरले विवाद र द्वन्द्वको सम्भावना पनि ल्याउँछ। योगदानको मूल्य, शेयरको अनुपात, र भविष्यका अपेक्षाहरूमा असहमति हुँदा संस्थापक, कर्मचारी र लगानीकर्ताबीच विवाद हुन सक्छ।
यद्यपि, यी चुनौतीहरूलाई व्यवस्थित रूपमा समाधान गर्न सकिएमा स्वेट शेयर नेपालको पूँजी बजारका लागि अत्यन्त लाभदायक हुन सक्छ। यसले नवप्रवर्तनलाई प्रोत्साहन, उद्यमशीलताको विकास र ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन सक्छ।
निष्कर्ष, स्वेट शेयर नेपालमा पूँजी र प्रतिभाबीचको खाडल कम गर्ने एक प्रभावकारी माध्यम हो। यसले लागत घटाउने, दक्ष जनशक्ति आकर्षित गर्ने र नवप्रवर्तन बढाउने महत्वपूर्ण अवसर प्रदान गर्छ। तर, यसको सफल कार्यान्वयनका लागि पारदर्शिता, उचित मूल्यांकन, कानुनी पालना र लगानीकर्ता सचेतना अत्यावश्यक छ। सही ढंगले प्रयोग गर्न सकेमा स्वेट शेयर नेपालका लागि आर्थिक विकास र पूँजी बजारको सुदृढीकरणतर्फ एक महत्वपूर्ण कदम साबित हुन सक्छ।