९ खर्ब २६ अर्बको ऐतिहासिक शोधनान्तर बचतले बलियो बन्यो बाह्य क्षेत्र, आन्तरिक उत्पादन भने सुस्त

Jul 13, 2026 06:38 PM MeroLagani



आर्थिक वर्ष २०८२/८३ को एघार महिना अर्थात् २०८३ जेठ मसान्तसम्मको अवधिमा मुलुकको अर्थतन्त्रमा मिश्रित प्रवृत्ति देखा परेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार रेमिट्यान्सको ऐतिहासिक वृद्धि र आयात नियन्त्रणका कारण बाह्य क्षेत्र अभूतपूर्व रूपमा बलियो बनेको देखिन्छ।

यद्यपि, आन्तरिक बजारको माग, बैंक कर्जा विस्तार र सरकारको पुँजीगत खर्चको पाटो भने अझै पनि सुस्त नै रहेको तथ्याङ्कले स्पष्ट पार्छ

समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्रले अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गरेको छ। अघिल्लो वर्षको असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले बढेर  ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २४ अर्ब ६८ करोड पुगेको छ, जसले हालको आयातको अवस्था अनुसार १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ। बाह्य क्षेत्र बलियो हुनुको मुख्य जग रेमिट्यान्स प्रवाहमा भएको उच्च वृद्धि नै हो, जुन समीक्षा अवधिमा ३८.२ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ। जेठ महिनामा मात्रै रु. २०३ अर्ब ९८ करोड रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्सकै सबल जगका कारण चालु खाता ८०२ अर्ब ६ करोडले बचतमा छ भने देशको शोधनान्तर स्थिति रु. ९२६ अर्ब ६ करोडको ऐतिहासिक बचतमा रहेको छ

बाह्य क्षेत्र सूचक उत्साहप्रद रहे पनि वैदेशिक व्यापार र सरकारी वित्त व्यवस्थापनमा भने केही दबाब कायमै देखिन्छ। समीक्षा अवधिमा कुल निर्यात १२.३ प्रतिशतले बढेर रु. २७७ अर्ब ७ ९ करोड पुगेको छ भने आयात १५.२ प्रतिशतले बढेर रु. १८४९ अर्ब १ करोड पुगेको छ। आयातको आकार निकै ठुलो हुँदा कुल व्यापार घाटा १५.७ प्रतिशतले बढेर रु. १६१६ अर्ब १३ करोड पुगेको छ। सरकारी वित्ततर्फ जेठ मसान्तसम्म सरकारको कुल खर्च रु. १३४६ अर्ब ६५ करोड हुँदा राजस्व परिचालन रु. १०८१ अर्ब ३१ करोड मात्र भएको छ। विशेष गरी समीक्षा अवधिमा चालु खर्च ६.७ प्रतिशतले बढ्दा विकास लक्षित पुँजीगत खर्च भने ७.५ प्रतिशतले घटेर रु. १३२ अर्ब ६७ करोडमा सीमित भएको छ, जसले बजारमा आर्थिक गतिविधि सुस्त हुनुको सङ्केत गर्छ

बैँक तथा वित्तीय प्रणालीमा पैसा थुप्रिए पनि वास्तविक क्षेत्रमा कर्जाको माग अझै बढ्न सकेको छैन। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलन १०.३ प्रतिशतले बढेर रु. ८०१२ अर्ब ४९ करोड पुगेको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मात्र ६.२ प्रतिशतले बढेर रु. ५८३८ अर्ब २७ करोड पुगेको छ। अधिक तरलताकै कारण बैंकहरूको ब्याजदर निकै सस्तो भएको छ। वाणिज्य बैंकहरूको औसत आधार दर घटेर ४.८८ प्रतिशतमा झरेको छ भने जेठ मसान्तमा निक्षेपको भारित औसत ब्याजदर ३.२९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशत कायम भएको छ। इतिहासकै सस्तो ब्याजदर हुँदा पनि उद्योगी व्यवसायीहरूमाझ कर्जाको आकर्षण बढ्न नसक्नुले आन्तरिक बजारको माग कमजोर रहेको पुष्टि गर्छ

महँगीको पाटो हेर्दा २०८३ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २.७२ प्रतिशत मात्रै थियो। यद्यपि, एघार महिनाको औसत मुद्रास्फीति २.९८ प्रतिशत मात्र रहेकाले महँगी अझै पनि केन्द्रीय बैंकको नियन्त्रणभित्रै देखिन्छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.९५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत रहेको छ

समग्रमा, नेपालको अर्थतन्त्रको बाह्य स्वास्थ्य निकै सबल र सुरक्षित देखिएको छ। बैंकहरूमा पर्याप्त तरलता र सस्तो ब्याजदर हुनु लगानीका लागि स्वर्ण अवसर भए पनि पुँजीगत खर्चमा आएको गिरावट, कृषि कर्जामा देखिएको २.४ प्रतिशतको सुस्तता र कमजोर कर्जा प्रवाहले आन्तरिक अर्थतन्त्र शिथिल रहेको देखाउँछ। बाह्य क्षेत्रको यो बलियो जगलाई उपयोग गर्दै आन्तरिक उत्पादन बढाउन र निजी क्षेत्रको मनोबल उठाउन अब मौद्रिक र वित्तीय नीति सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।