अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफैँ कार्यविधि (प्रोडक्ट पेपर) बनाएर कम्पनीहरूको सबलता मूल्यांकन गर्ने अधिकार दिएको छ । बैंकहरूले कम्पनीको चुक्ता पुँजीको आकार, शेयर सूचीकरण भएको न्युनतम अवधि, कम्पनी नाफामा रहेको र लाभांश वितरण गरेको इतिहास, क्रेडिट रेटिङ, नियामक निकायको नियम पालना र नियमित साधारणसभा गरे-नगरेको आधारमा कम्पनीको स्तर तय गर्ने सक्ने छन् ।
यसरी मूल्यांकन गर्दा उत्कृष्ट र बलियो ठहरिएका कम्पनीहरूको शेयर धितो राखेर ऋण दिँदा पहिले तोकिएको ७० प्रतिशतको सीमामा थप १० प्रतिशत विन्दुसम्म बढाउन पाइनेछ । अर्थात, राम्रा कम्पनीको शेयरमा अब ८० प्रतिशतसम्म कर्जा पाउन सकिनेछ । नेपाल राष्ट्र बैंकले बुधवार (३१ असार, २०८३) एक एकीकृत परिपत्र जारी गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।