कक्रोज जनता पार्टीको आन्दोलनले अस्तव्यस्त बन्यो दिल्ली, ‘भारतलाई नेपालजस्तै बनाइदिने’ आन्दोलनकारीको धम्की

Jul 21, 2026 02:55 PM Merolagani



भारतको राजधानी दिल्लीको मध्यभागमा सोमवार बिहानदेखि शुरु भएको  कक्रोज जनता पार्टीको आन्दोलन थप चर्किदैँ गएको छ । 

आन्दोलनका कारण दिल्लीको जनजीवन अस्तव्यस्त भएको छ ।

भारतको शिक्षा प्रणालीमा सुधार र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै दिल्लीको जन्तरमन्तरमा झन्डै एक महिनादेखि कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा आन्दोलन चलिरहेको छ। त्यसैक्रममा सोमबार संसदको नयाँ सत्र शुरु हुने दिन जन्तरमन्तर देखि संसद भवनसम्म मार्चपास गर्ने कार्यक्रम राखिएको थियो । उक्त मार्चपासमा लाखौंको संख्यामा मानिसहरु सहभागि हुनुको साथै प्रदर्शन मंगलबार पनि चर्किएपछि मोदी सरकारले पहिलो पटक गम्भिर चुनौतिको सामना गर्नु परेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

 

आन्दोलन चर्किन थालेपछि सोमबार नै केन्द्रीय मन्त्री जेपी नड्डाले सीजेपीका प्रतिनिधिहरूसँग वार्ता गरेका थिए । तर, वार्तामा कुनै सहमति नभएकोले आन्दोलन जारी राख्ने सीजेपीले जनाएको छ । प्रदर्शनमा सहभागिहरुले मोदी सरकार र सत्तारुढ भाजपाका नेताहरुलाई ‘नेपालको जस्तै बनाइदिने’ आसयका धम्कीहरु दिइरहेका छन् । गत भदौमा भएको जेनजी विद्रोहमा नेपालमा सत्तापलट मात्र भएको थिएन, दर्जनौं नेताहरुका घरहरु जलाइएको थियो । कक्रोज जनता पार्टीका कार्यकर्ता र समर्थकहरुले त्यही कुरालाई स्मरण गर्दै मोदी सरकारले आफूहरुको माग पुरा नगर्रे ‘नेपालको जस्तै बनाइदिने’ धम्की दिइरहेका हुन् ।

स्वतन्त्र पत्रकार स्मिता शर्माका अनुसार सोमवारको विरोधप्रदर्शनमा त्यति ठूलो सङ्ख्यामा युवाहरू सडकमा ओर्लिन्छन् भन्ने कसैले अनुमान नै गरेको थिएन। तर, अनुमान विपरित लाखौंको संख्यामा युवाहरु सडकमा आउनु सरकारको लागि निकै खतरापूर्ण सन्देश भएको उनको भनाइ छ । ‘प्रदर्शनमा युवाहरुको सहभागितालाई रोक्न इन्टरनेट बन्द गरिएको थियो। सीजेपीका नेताहरूले आफ्ना कुरा फैलाउन सकिरहेका थिएनन्। मेट्रो स्टेशनहरू बन्द थिए। सन्देश पुर्याीउन सजिलो थिएन। आन्दोलन शिक्षाको विषयबाट सुरु भएको थियो, तर कुरा महँगी, बेरोजगारी र निर्वाचनमा भोट चोरी भएको कुरासम्म पुग्यो। कक्षा १२ मा अध्ययनरत विद्यार्थीदेखि कलेजका विद्यार्थीसम्मले यी कुरा उठाए, जुन आफैँमा अनौठो विषय थियो,’ उनी भन्छिन् ।

वरिष्ठ पत्रकार हेमन्त अत्री अहिले नै मोदी सरकार ढल्ने अवस्था नभए पनि युवाहरूको विशाल सहभागिता भएको यो विरोधप्रदर्शन आगामी दिनमा मोदी सरकारका लागि समस्या उत्पन्न हुन सक्ने सङ्केत दिएको बताउँछन् । ‘सरकारका लागि यो 'चेतावनीको घण्टी' हो। सरकारले लामो समयसम्म जनतालाई बेवास्ता गर्न पाउँदैन। सरकारले उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ। अन्यथा जनताले सडकमा ओर्लिन बिर्सिएका छैनन्। यसको प्रभाव दीर्घकालमा देखिने छ। हाम्रो लोकतन्त्र दानमा आएको होइन, हामीले त्यसलाई कमाएका हौँ। अनि दिल्लीका सडकमा जे देखियो, त्यही हाम्रो लोकतन्त्रको शक्ति हो।

'सरकारलाई हिन्दू र मुस्लिमका नाममा आफ्नो राजनीति चल्न सक्छ भन्ने लाग्छ। तर अब त्यस्तो हुनेवाला छैन। जनता मूल मुद्दातर्फ फर्किँदै छन्,’ उनी भन्छन् ।

आन्दोलन कसरी सुरु भयो ?

यो आन्दोलनको सुरुआत कुनै राजनीतिक दलबाट होइन, एउटा विवादास्पद अभिव्यक्तिबाट भयो।
मे २०२६ मा भारतको सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई कक्रोजसँग तुलना गरेको भन्ने आरोप लागेपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया सुरु भयो। त्यसको विरोधस्वरूप अमेरिका अध्ययनरत भारतीय युवा अभिजित दिपकेले व्यंग्यात्मक रूपमा Cockroach Janta Party (CJP) स्थापना गरे।

शुरुमा मजाकका रूपमा खोलिएको यो अभियान केही दिनमै करोडौं युवाको असन्तुष्टिको प्रतीक बन्यो। बेरोजगारी, महंगी, भ्रष्टाचार आदी अनेकौं समस्याको कारण भारतीय जनतामा आक्रोस बढिरहेको बेलापछिल्लो समय विशेषगरी मेडिकल प्रवेश परीक्षा (NEET) लगायतका परीक्षा विवादले आन्दोलनलाई थप बल दिएको विश्लेषण गरिएको छ।

हजारौं प्रदर्शनकारी संसदतर्फ मार्च गर्न खोज्दा दिल्ली प्रहरीले अश्रुग्यास, लाठीचार्ज र ठूलो संख्यामा पक्राउको सहारा लिएको थियो। समाचारहरूका अनुसार सोमबरको प्रदर्शनमा प्रहरीले लाठिचार्ज र अश्रुग्याँस प्रहार गर्दा झण्डै १८० जना भन्दा धेरै घाइते भएका छन् ।

भारतीय विपक्षी दलहरूले आन्दोलनमाथिको प्रहरी कारबाहीको आलोचना गरेका छन्।कांग्रेससहितका केही दलहरूले सरकारले लोकतान्त्रिक विरोध दबाउन खोजेको आरोप लगाएका छन् भने संसदभित्र पनि यो विषयलाई लिएर चर्को विरोध भएको छ। विपक्षीहरुले चर्काे विरोध गरेपछि मंगलबार संसदको वैठकसमेत अवरुद्ध भएको छ ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।