विभागको तथ्याङ्कले व्यापार घाटाको अबस्था देखाएको छ। गत एक वर्षमा नेपालको वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेको छ। तर यो वृद्धि निर्यातमा भन्दा आयातमा बढी केन्द्रित छ।
तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको सामान आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाखको आयात भएको थियो। एक वर्षको अवधिमा आयात १६.२० प्रतिशतले बढेको देखिन्छ। यसले नेपालको परनिर्भरता अझै बढ्दै गएको पुष्टि गर्छ। विलासी वस्तु र दैनिक उपभोग्य सामानको आयात नियन्त्रण हुन सकेको छैन।
निर्याततर्फ १३.८१ प्रतिशतको सुधार देखिएको छ। गत वर्ष ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। अघिल्लो वर्ष निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ थियो। निर्यातको अंक बढे पनि कुल व्यापारमा यसको हिस्सा भने घटेको छ। अघिल्लो वर्ष कुल व्यापारमा निर्यातको शेयर १३.३१ प्रतिशत थियो। यो वर्ष घटेर १३.०७ प्रतिशतमा खुम्चिएको छ। यसले हाम्रो उत्पादन र निर्यात क्षमता कमजोर रहेको देखाउँछ।
नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढेको छ। एक वर्षमा नेपालले १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यो घाटा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँ थियो। आयात र निर्यातको अनुपात पनि निकै असन्तुलित छ। अहिले १ रुपैयाँको सामान निर्यात गर्दा ६.६५ रुपैयाँको सामान आयात भइरहेको छ। यो अनुपात अघिल्लो वर्ष ६.५१ मात्र थियो।
कुल वैदेशिक व्यापारमा आयातको शेयर ८६.९३ प्रतिशत पुगेको छ। यसको अर्थ हामीले गर्ने व्यापारको ठूलो हिस्सा पैसा बाहिर पठाउनमै सीमित छ। आन्तरिक उत्पादन बढाउन नसक्दा र निर्यातमुखी उद्योगमा पूँजी लगानी नहुँदा यस्तो समस्या आएको हो। व्यापार घाटा न्यूनीकरणका लागि सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्छ। विलासी वस्तुको आयातमा कडाइ र निर्यात प्रवर्द्धनका लागि विशेष सहुलियत दिनु आवश्यक छ। अन्यथा चुलिँदो व्यापार घाटाले मुलुकको अर्थतन्त्रमा थप संकट निम्त्याउन सक्छ।
भन्सर विभागको यो तथ्याङ्कले नीति निर्माताहरूलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ। निर्यातको आधार नबढाई वैदेशिक व्यापारबाट लाभ लिन सकिँदैन।