वर्षौँदेखि अर्बौँको कारोबार गर्दै आएका पुराना र ठूला निर्जीवन बीमा कम्पनीहरूले यो क्षेत्रलाई पूर्ण रूपमा बेवास्ता गर्दा भर्खरै बजारमा आएका चार वटा नयाँ लघु बीमा कम्पनीहरूले भने छोटो समयमै उल्लेख्य व्यापार हात पार्न सफल भएका हुन्।
नेपाल बीमा प्राधिकरणको पछिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार देशभर कुल १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको लघु बीमा व्यवसाय भएको छ। वर्षभरिमा जारी भएका ५ लाख १० हजार ९१९ वटा लघु बीमालेखमार्फत सो बराबरको बीमाशुल्क संकलन भएको हो। तर, यस तथ्यांकको गहिरो विश्लेषण गर्दा लघु बीमा बजारको लगभग सम्पूर्ण हिस्सा नयाँ स्थापित चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूको कब्जामा रहेको देखिन्छ।
विशेष गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्सले मात्रै १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। यो कुल लघु बीमा बजारको ९९ प्रतिशतभन्दा बढी हिस्सा हो। यी चार कम्पनीहरूले ५ लाखभन्दा बढी बीमालेख जारी गर्दै गाउँगाउँ र साना उद्यमीसम्म आफ्नो पहुँच विस्तार गरेका छन्। नयाँ कम्पनीहरूले सुरुवाती वर्षमै देखाएको यो आक्रामक उपस्थितिबाट न्यून आय भएका नागरिकमा बीमाको माग उच्च रहेको स्पष्ट हुन्छ।
यसको ठीक विपरीत, ठूलो सञ्जाल र पर्याप्त पुँजी भएका पुराना १४ वटा स्थापित निर्जीवन बीमा कम्पनीहरूको ध्यान भने लघु बीमामा पर्नै सकेको छैन। पुराना कम्पनीहरूले वर्षभरिमा जम्मा १ करोड २२ लाख रुपैयाँ बराबरको मात्रै लघु बीमा व्यवसाय गरेका छन्, जुन कुल लघु बीमा बजारको १ प्रतिशतभन्दा पनि कम हो। कतिपय स्थापित बीमकहरूले त वर्षभरिमा एउटा पनि लघु बीमालेख जारी नगरेको तथ्यांकले देखाउँछ।

ठूला कम्पनीहरू सहरी क्षेत्रका बहुराष्ट्रिय कम्पनी, ठूला उद्योग, हवाई, समुद्री व्यापार र सवारी साधनजस्ता धेरै प्रिमियम आउने क्षेत्रमा मात्रै केन्द्रित हुँदा साना र छरिएर रहेका जोखिमहरू ओझेलमा पर्दै आएका थिए। थोरै प्रिमियम संकलन गर्न बढी लागत लाग्ने र व्यवस्थापकीय झन्झट हुने ठानेर पुराना बीमकहरूले यो क्षेत्रलाई प्राथमिकता नदिएपछि नियामक निकायले छुट्टै लघु बीमा कम्पनीहरूलाई लाइसेन्स दिएको थियो।
अहिले नयाँ कम्पनीहरूले हासिल गरेको सफलताले साना बीमाको बजार सम्भावना कति ठूलो छ भन्ने पुष्टि गरेको छ। ग्रामीण क्षेत्रका साना किसान, खुद्रा व्यापारी र न्यून आय भएका वर्गलाई लक्षित गरी ल्याइएका सेवाहरू प्रभावकारी बन्दै जाँदा लघु बीमा क्षेत्रले समग्र बीमाको पहुँच बढाउन महत्त्वपूर्ण भूमिका खेल्न थालेको छ। पुराना बीमकहरूको उदासीनता नयाँ कम्पनीहरूका लागि भने बजार स्थापित गर्ने र व्यापार बढाउने ठूलो अवसर साबित भएको छ।