शेयर खरिद रणनीति बनाउन विरालो, मुसा, बाँदर र चिम्पान्जीमा गरिएका अनौठा अनुसन्धान, विज्ञ विश्लेषक भन्दा भरपर्दाे !

Aug 03, 2026 03:24 PM Mero lagani



तपाई आफूलाई हदैसम्मको चतुर वा स्मार्ट लगानीकर्ता मान्नुहुन्छ ? 

मानौं तपाईकै दावी अनुसार स्मार्ट लगानीकर्ता नै हो तर त्यसको मापन गर्ने आधार के हो ? तर्क अनेक होलान्, तर जति नै तर्क दिएपनि तपाई बाँदर, चिम्पान्जी, विरालो र मुसा जत्तिको शेयर बजारलाई बुझ्न सक्ने स्मार्ट लगानीकर्ता बन्न सक्नु हुन्न ।

यो कुनै हचुवाको आधारमा गरिएको ‘गाईजात्रे विश्लेषण’ होइन, बरु झण्डै ३ दशकदेखि भइरहेको अनुसन्धान र त्यसबाट निस्केको परिणाम हो ।

अर्थशास्त्री बर्टन माल्केल (Burton Malkiel) ले आफ्नो प्रसिद्ध पुस्तक A Random Walk Down Wall Street मा ती अनुसन्धानहरुको बारेमा लेखेका छन्:- 'आँखामा पट्टी बाँधेर शेयर बजारको बोर्डमा डार्ट फाल्ने बाँदरले पनि विशेषज्ञहरू जत्तिकै वा त्योभन्दा राम्रो पोर्टफोलियो छनोट गर्न सक्छ। यसैबाट पनि ती अध्ययनहरु कति गम्भिररुपमा गरिएको थियो भन्ने स्पष्ट हुन्छ ।'

मेरोलगानीका पाठकहरुको लागि पनि रुचीकर लाग्न सक्ने ठानेर यहाँ शेयर बजारको प्रवृत्तिलाई बुझाउन जनावरमा करिब ३ दशकदेखि गरिएका ४ अनौठा अनुसन्धान, प्रयोग र तिनीहरुका निष्कर्षलाई संक्षेपमा दिइएको छ । 

१. बिरालो  – २०१२

सन् २०१२ मा ब्रिटेनको प्रसिद्ध पत्रिका  The Observer ले एउटा चाखलाग्दो प्रयोग गर्‍यो । उनीहरूले शेयर बजारका विशेषज्ञहरूको टोलीलाई एउटा ५,००० पाउण्डको काल्पनिक पोर्टफोलियो दिए र त्यति नै रकम ओर्लान्डो नामको अदुवा रङको बिरालोलाई पनि दिए।

तरिका: विशेषज्ञहरूले आफ्नो वर्षौँको अनुभव, कम्पनीका वित्तीय रिपोर्ट र बजारको अध्ययन गरेर ५ वटा कम्पनीका शेयर चुने। अर्कोतर्फ, ओर्लान्डो बिरालोलाई एउटा ससानो खेलौना मुसा (Toy Mouse) दिइयो। बिरालोले त्यो मुसा ग्रिडमा कोरिएका कम्पनीका नामहरूमध्ये जहाँ-जहाँ फाल्थ्यो, त्यही शेयर उसको पोर्टफोलियोमा राखिन्थ्यो।

नतिजा: सुरुका केही महिना विशेषज्ञहरू अगाडि थिए। तर वर्षको अन्त्य (२०१२ को डिसेम्बर) सम्म आइपुग्दा बिरालोको पोर्टफोलियो ४९२.६० पाउण्ड (करिब १०.८%) ले बढेको थियो भने विशेषज्ञहरूको पोर्टफोलियो केवल १७९.२० पाउण्ड (करिब ३.५%) ले मात्र बढेको थियो। 

२.  मुसा  – २०२१

शेयर बजार मात्र होइन, क्रिप्टोकरेन्सी (Cryptocurrency) को दुनियाँमा पनि जनावरले कमाल देखाएका छन्। जर्मनीका दुई युवाले आफ्नो 'हेम्स्टर' (एक प्रकारको सानो मुसा) को नाम Mr. Goxx राखेर एउटा हाई-टेक खोर बनाएका थिए।

तरिका: खोरमा राखिएको ट्रेडिङ ह्विल (Spinning Wheel) मा मुसा दौडिँदा ३० वटा विभिन्न क्रिप्टोकरेन्सीहरूमध्ये एउटा छनोट हुन्थ्यो। त्यसपछि उसले खोरका दुईवटा सुरुङ (Tunnel) मध्ये एउटाबाट बाहिर निस्कन्थ्यो—एउटा सुरुङको अर्थ 'Buy (किन्ने) र अर्कोको अर्थ 'Sell' (बेच्ने) हुन्थ्यो। यो सम्पूर्ण प्रक्रिया Twich मा लाइभ स्ट्रिम हुन्थ्यो।

नतिजा: सेप्टेम्बर २०२१ सम्ममा मिस्टर ग्याक्सको पोर्टफोलियो १९.७% प्रतिफल थियो। उक्त अवधिमा यो सानो मुसाले विश्वका चर्चित लगानीकर्ता वारेन बफेटको कम्पनी Berkshire Hathaway र शेयर बजारको S&P 500 सूचकभन्दा पनि राम्रो प्रदर्शन गरेको थियो! 

३. बाँदर – १९९९/२०००

अमेरिकी वित्तीय पत्रिका San Francisco Chronicle ले सन् १९९९ मा 'आदम मन्की' नामको एउटा बाँदरलाई शेयर चुन्न लगाएको थियो ।

तरिका: पत्रिकाका प्रतिनिधिहरूले बाँदरको अगाडि शेयर बजारका सूचिहरू राखिदिएका थिए। बाँदरले आफ्नो औँलाले जुन-जुन कम्पनीको नाममा छोयो, ती शेयरहरू खरिद गरियो।

नतिजा: डट-कम बबल (Dot-com bubble) को समयमा जहाँ धेरै ठूला-ठूला वाल स्ट्रिट विशेषज्ञहरूले पैसा गुमाइरहेका थिए, आदम बाँदरले चुनेका शेयरहरूले बजारका औसतभन्दा धेरै राम्रो नाफा दिएका थिए। उनले थुप्रै वर्षसम्म वित्तीय विश्लेषकहरूलाई टक्कर दिएका थिए।

४. चिम्पान्जी  – १९९९

वाल स्ट्रिट जर्नल (Wall Street Journal) ले लामो समयसम्म Dart-Board Contest चलाएको थियो। यसमा एकातिर दिग्गज ट्रेडरहरू हुन्थे भने अर्कोतिर 'डार्ट' (सुइरो) हान्ने मान्छे वा जनावर हुन्थ्ये।

तरिका: 'रेभेन' (Raven) नामकी ६ वर्षकी पोथी चिम्पान्जीलाई शेयर सूची टाँगिएको बोर्डमा डार्ट फाल्न लगाइयो। उसले जहाँ डार्ट हान्थी, त्यही कम्पनीको शेयर छनोट हुन्थ्यो।

नतिजा: उसले बनाएको 'इन्डेक्स' ले अमेरिकाका ६,००० भन्दा बढी पेशेवर मनी म्यानेजरहरूलाई पछारेको थियो। उसले चुनेका इन्टरनेट कम्पनीका शेयरहरूले एकै वर्षमा २१३% सम्मको नाफा दिएका थिए। 

यसबाट अर्थशास्त्रले के पाठ सिक्यो ?

यी घटनाहरू केवल जिस्किएर गरिएका प्रयोग मात्र थिएनन्। यसले अर्थशास्त्रको एउटा महत्त्वपूर्ण सिद्धान्त "Efficient Market Hypothesis (EMH)" लाई पुष्टि गर्न मद्दत गर्छ।

यसको मुख्य कारण के हो भने—छोटो समयमा शेयर बजारको चाल 'Random' (अनिश्चित) हुन्छ। धेरै विश्लेषण गर्दा मानिसहरू डर, लोभ र अनावश्यक सूचनाको भ्रममा परेर गल्ती गर्छन्, जबकि जनावरहरूले बिना कुनै पक्षपात र तनाव 'र्यान्डम' तरिकाले शेयर चुन्छन्!




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।