प्रधानमन्त्री बालेनलाई भेटेर रास्वपा सांसदले सुनाए सुदूरपश्चिमका समस्या: विकास आयोजना कार्यान्वयन गर्न गरे ध्यानाकर्षण

Aug 04, 2026 02:36 PM Merolagani



सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले आज प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहसँग भेट गरे। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सुदूरपश्चिमको समग्र विकास, राजनीतिक अवस्था र स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गरे। ती उपलब्धिबारे संसदमार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी दिए।

सांसदहरूले सुदूरपश्चिमका ठुला आयोजना र वर्षौँदेखि अल्झिएका विषयमा विशेष जोड दिए। उनीहरूले गेटा विश्वविद्यालय सञ्चालन, पश्चिम सेती जलविद्युत् आयोजना र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई गति दिन माग गरे। त्यस्तै, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा रहेको छाडा चौपाया व्यवस्थापन, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण र तटबन्ध निर्माणका विषयमा पनि उनीहरूले प्रधानमन्त्रीसमक्ष कुरा राखे।

सांसदहरूले दोधारा–चाँदनी क्षेत्रमा भइरहेको नदी कटान, भन्सारमा देखिएका समस्या, आरक्ष पीडितका गुनासो र हुलाकी सडकको सुस्त निर्माणबारे पनि ध्यानाकर्षण गराए। साथै, किसानले धान खरिद–बिक्रीमा भोग्नुपरेको समस्या समाधान गर्न उनीहरूले आग्रह गरे।

भेटमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाल लगायतको सहभागिता थियो। प्रधानमन्त्री बालेनले सांसदहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने आश्वासन दिए।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।