संशाेधन हुन लागेकाे राहदानी ऐनमा कूटनीतिक र विशेष राहदानीको दुरुपयोग रोक्न कडाइ: व्यक्तिगत भ्रमण अवधि र फिर्ता प्रक्रियामा कडा नियम

Aug 06, 2026 10:55 AM Merolagani



सरकारले कूटनीतिक तथा विशेष राहदानीको दुरुपयोगलाई कडाइका साथ नियन्त्रण गर्न नयाँ र कडा कानुनी व्यवस्था अगाडि बढाएको छ। पछिल्लो समय विशिष्ट श्रेणीका राहदानीको प्रयोगलाई मितव्ययी र मर्यादित बनाउनुपर्ने आवाज उठिरहेका बेला प्रस्तावित विधेयकको दफा १६ मा यससम्बन्धी कडा नियमहरू राखिएका छन्।

नयाँ व्यवस्थाअनुसार अब कूटनीतिक वा विशेष राहदानीवाहकले विदेश भ्रमण गर्दा राज्यको कोषको दुरुपयोग नहोस् भन्नेतर्फ सचेत हुनुपर्नेछ तथा आफ्नो ओहोदा र नेपालको राष्ट्रिय प्रतिष्ठा अनुकूल मर्यादित रूपमा मात्र त्यसको प्रयोग गर्नुपर्नेछ।

 

प्रस्तावित कानुनले सरकारी कामको सिलसिलामा विदेश जाने पदाधिकारी तथा कर्मचारीहरूले भ्रमण सकिएपछि वा आफ्नो पद सकिएपछि यस्ता राहदानीहरू अनिवार्य रूपमा निर्धारित समयभित्र विभागमा फिर्ता बुझाउनुपर्ने बाध्यकारी नियम बनाएको छ। विशेष गरी सरकारी कामको सिलसिलामा विदेश जाँदा भ्रमण कार्यक्रमबाहेक व्यक्तिगत कामको लागि बढीमा तीस दिनसम्म मात्र त्यस्तो राहदानी प्रयोग गर्न पाइने सीमा निर्धारण गरिएको छ। त्यसैगरी, नियोगहरूमा कार्यरत कर्मचारीहरूले समेत रमाना लिएर नेपाल नफर्किएसम्मको सीमित अवधिको लागि मात्र व्यक्तिगत भ्रमणमा प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ। नेपाल सरकारले जुनसुकै बखत पनि यस्ता राहदानीहरू फिर्ता लिन वा रद्द गर्न सक्ने अधिकार सुरक्षित राखेको छ।

यस प्रकारको कडा कानुनी प्रावधानले राज्यको वित्तीय सुशासन कायम गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। कूटनीतिक तथा विशेष राहदानीको आडमा हुने अनावश्यक सरकारी भ्रमणहरू, विदेश भ्रमणका नाममा राज्यको स्रोत साधन र ढुकुटीबाट हुने फजुल खर्च तथा अनाधिकृत रूपमा विदेशमा लामो समय बसोबास गर्ने वा मानवतस्करी जस्ता गैरकानुनी गतिविधिहरूलाई यसले निर्मम ढङ्गले रोक्नेछ। सार्वजनिक पदको दुरुपयोग गरी राज्यको सम्पत्ति र प्रतिष्ठामा आँच आउन दिने प्रवृत्तिलाई निरुत्साहन गर्दै वित्तीय अनुशासन र सुशासन स्थापना गर्न यो कानुन कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।