कार्यक्रममा स्वागत मन्तव्य दिँदै ओमानका लागि कार्यवाहक राजदूत विशेषकुमार साहले नेपालले ओमानलाई व्यापार र लगानीका लागि प्राथमिकतामा रहेको बताए। उनले नेपालमा लगानीका लागि कानुनी र संस्थागत व्यवस्था सहज रहेको उल्लेख गर्दै ओमानी लगानीकर्ताहरूलाई नेपालमा रहेका अवसरहरूको सदुपयोग गर्न आग्रह समेत गरे ।
कार्यक्रममा निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरेले नेपालका निर्यातजन्य उत्पादनहरू र तिनको प्रतिस्पर्धी क्षमताका बारेमा प्रस्तुति गरेका थिए । त्यसैगरी, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले नेपाली हस्तकलाको मौलिकता, परम्परागत सीप र ओमानलगायत खाडी मुलुकमा यसको व्यापारिक सम्भावनाबारे प्रकाश पारे।
प्रदर्शनी र बि टु बि अन्तरक्रिया
कार्यक्रममा विभिन्न नेपाली उत्पादनहरूको प्रदर्शनी समेत गरिएको थियो। ओमानस्थित हाइपरमार्केटका प्रमुख कार्यकारी अधिकृत निर्देशकहरू र ७० भन्दा बढी नेपाली तथा ओमानी व्यवसायीहरूले प्रदर्शनीको अवलोकन गर्दै नेपाली उत्पादनप्रति चासो व्यक्त गरेका थिए। सो अवसरमा नेपाली प्रतिनिधिमण्डल र स्थानीय व्यवसायीहरूबीच व्यावसायिक साझेदारीका विषयमा छलफल भएको थियो।
अगस्ट ३ मा मस्कट पुगेको उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलले अगस्ट ४ मा लुलु हाइपरमार्केटसँग बीटुबी अन्तरक्रिया गरेको छ। टोलीले आगामी दिनमा ओमान चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री र ओमान इन्भेस्टमेन्ट अथोरिटीका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, ओमानमा रहेका नेपाली समुदायसँग पनि छुट्टै अन्तरक्रिया आयोजना गरिने दूतावासले जनाएको छ।