यस अवसरमा यस वर्षको नाडा अटो शोलाई ‘गोल्डेन जुब्ली’ (स्वर्ण जयन्ती) एडिसनका रूपमा मनाइन लागिएको छ । नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो कुम्भ मेला मानिने नाडा अटो शो यसपटक विशेष उत्सवका साथ आयोजना हुन लागेको हो ।
सन् १९७६ मा स्थापना भएको नाडाले आफ्नो यात्राको आधा शताब्दी पुरा गरेको ऐतिहासिक अवसरलाई स्मरणीय बनाउन यस पटकको प्रदर्शनीलाई थप परिष्कृत र वृहत् बनाउने तयारी गरेको छ ।

५० वर्षको यात्रालाई प्रतिबिम्बित गर्ने गरी यसपटकको अटो शोको थिम ‘द गोल्डेन जुब्ली’ राखिएको छ । यसले नेपालको अटोमोबाइल क्षेत्रको विकासक्रमलाई समेत झल्काउने अपेक्षा गरिएको छ ।
विगतका वर्षहरूमा जस्तै यसपटक पनि विद्युतीय सवारी साधनहरूको बाहुल्यता रहनेछ । नेपालमा बढ्दो ईभी क्रेजलाई मध्यनजर गर्दै विभिन्न ब्रान्डका नयाँ मोडलका इलेक्ट्रिक कार, स्कुटर र बसहरू प्रदर्शनीमा राखिनेछन् ।
नेपाल भित्रिएका नयाँ अटोमोबाइल ब्रान्डहरूले यसै मेलालाई लक्षित गरी आफ्ना नयाँ मोडलहरू सार्वजनिक (लन्च) गर्ने तयारी गरेका छन् । विशेष गरी चिनियाँ र भारतीय ब्रान्डका नयाँ गाडीहरू यसपटकको मुख्य आकर्षण हुनेछन् ।
गाडी खरिद गर्न चाहने ग्राहकका लागि विभिन्न बैंकहरूले विशेष ब्याजदर र सहुलियतपूर्ण कर्जा योजनाहरू अफर गर्नेछन् । प्रदर्शनीमा सवारी साधन मात्र नभई लुब्रिकेन्ट्स, टायर, ब्याट्री र अन्य अटो कम्पोनेन्ट्सका स्टलहरू पनि रहनेछन् ।
अटो क्षेत्रमा उत्साहको सञ्चार
पछिल्लो समय सुस्त रहेको अटोमोबाइल बजारलाई यो ‘गोल्डेन जुब्ली’ एडिसनले नयाँ उर्जा दिने व्यवसायीहरूको विश्वास छ । नाडाले यस मेलालाई केवल प्रदर्शनी मात्र नभई व्यवसायी, ग्राहक र नीति निर्माताहरूबीच संवाद गर्ने साझा थलोका रूपमा विकास गर्दै आएको छ ।
यस वर्षको अटो शो भदौ दोस्रो सातादेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कार्यतालिका रहेको छ । ५० वर्षको गौरवमय इतिहास बोकेको नाडाले यो विशेष संस्करणलाई सफल बनाउन सम्पूर्ण तयारी तीव्र पारेको जनाएको छ ।