धितोपत्र बोर्ड र नेप्सेको नीतिगत सक्रियतासँगै ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार सेवा धमाधम सुरु गर्न थालेका छन्। पछिल्लो तथ्याङ्क अनुसार नेप्सेबाट अनुमति पाएका ब्रोकरहरूमध्ये आधा दर्जनभन्दा बढीले पूर्ण रूपमा सेवा सञ्चालनमा ल्याइसकेका छन् भने केही पाइप लाइनमा रहेका छन्। तर, अर्कोतर्फ लगानीकर्ताले पाउने कर्जाको सीमा र नेप्सेको सूचना प्रणालीको पारदर्शितामा भने गम्भीर प्रश्नहरू उब्जिएका छन्।
कुन कुन ब्रोकरले सुरु गरे सेवा ?
नेप्सेका अनुसार हालसम्म ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटिज), ४५ (इम्पेरियल सेक्युरिटिज), ३३ (दक्षिणकाली इन्भेष्टमेन्ट), ३४ (भिजन सेक्युरिटिज), ४८ (त्रिशक्ति सेक्युरिटिज), ५७ (आर्यतारा इन्भेष्टमेन्ट) र कञ्चनजंघा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५०)ले मार्जिन कारोबारको सेवा औपचारिक रूपमा सुरु गरिसकेका छन्। यी कम्पनीहरूले आफ्ना ग्राहकलाई शेयर धितोमा राखेर तत्काल शेयर खरिद गर्न कर्जा सुविधा उपलब्ध गराइरहेका छन्।

यसैगरी, ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरिटिज) पनि मार्जिन सेवा सुरु गर्ने अन्तिम तयारीमा रहेको छ। आज वा भोलिभित्रै यस कम्पनीले पनि कारोबार सुरु गर्ने गरी प्राविधिक तयारी पूरा गरेको बुझिएको छ। यीमध्ये सेवा सुरु गर्ने कम्पनीले दैनिक रूपमा आफ्नो मार्जिन कारोबारको विवरण नेप्सेलाई अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ। नेप्सेले सोही रिपोर्टिङका आधारमा बजारको जोखिम र मार्जिन कर्जाको अवस्था विश्लेषण गर्दै आएको छ।


नेप्सेको वेबसाइटमा सूचनाको अभाव
नेप्सेको कार्यविधि अनुसार मार्जिन कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरू, योग्य कम्पनीको सूची र सेवा प्रदायक ब्रोकरको जानकारी सर्वसाधारणको जानकारीका लागि वेबसाइटमा प्रकाशित गर्नुपर्छ। तर, नेप्सेले हालसम्म आफ्नो आधिकारिक पोर्टलमा यी विवरणहरू नियमित अपडेट नगरेको गुनासो लगानीकर्ताको छ। ६ वटा ब्रोकरले दैनिक रिपोर्टिङ गरिरहेको भए पनि सो तथ्याङ्क सार्वजनिक नगरिँदा बजारमा कुन कम्पनीमा कति मार्जिन कर्जा प्रवाह भएको छ भन्ने कुरा अन्योलमै छ।
७० प्रतिशत कर्जाको गणित: १८० दिने औसत मूल्यको तगारो
मार्जिन कारोबार कार्यविधि अनुसार लगानीकर्ताले योग्य कम्पनीको शेयर खरिद गर्न ७० प्रतिशतसम्म कर्जा पाउन सक्छन्। तर, यो ७० प्रतिशतको गणना गर्दा एउटा कडा सर्त राखिएको छ: "१८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्य (LTP) मध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशत मात्र कर्जा पाइनेछ।"
जस अनुसार नेप्सेले प्रकाशित गरेको मार्जिन योग्य कम्पनीको सूचिमा १२३ कम्पनी छन्। जसमा १७ कम्पनीको शेयर मूल्य १८० दिनको मूल्य भन्दा बढी छ भने १०६ कम्पनीको मूल्य १८० दिनको मूल्य भन्दा कम छन्।
१७ कम्पनीमा बजार मूल्यभन्दा कम कर्जा
तथ्याङ्क अनुसार १७ वटा यस्ता कम्पनीहरू छन् जसको हालको बजार मूल्य (LTP) १८० दिनको औसत मूल्यभन्दा बढी छ। यस्तो अवस्थामा लगानीकर्ताले हालको मूल्यमा ७० प्रतिशत कर्जा पाउँदैनन्। उनीहरूले १८० दिनको कम मूल्यमा मात्र ७० प्रतिशत कर्जा पाउँछन्, जसले गर्दा हालको बजार मूल्यको तुलनामा कर्जाको प्रतिशत ५० देखि ६० प्रतिशतमा खुम्चिन सक्छ।
यस सूचीमा एभरेष्ट बैंक (EBL), ग्लोबल आइएमई बैंक (GBIME), नबिल बैंक (NABIL) जस्ता ब्लुचिप कम्पनीहरू छन्। उदाहरणका लागि, एभरेष्ट बैंकको बजार मूल्य ७१५ रुपैयाँ छ भने १८० दिने औसत मूल्य ७०१.८५ रुपैयाँ मात्र छ। नियम अनुसार लगानीकर्ताले ७०१.८५ को ७० प्रतिशत मात्र कर्जा पाउनेछन्। यस्तो अवस्थामा लगानीकर्ताले ७१५ रुपैयाँको शेयर किन्न आफ्नै खल्तीबाट बढी पैसा हाल्नुपर्ने हुन्छ।
१०६ कम्पनीमा पूर्ण ७० प्रतिशत कर्जाको सम्भावना
बाँकी १०६ कम्पनीहरूको हकमा भने १८० दिनको औसत मूल्य भन्दा हालको बजार मूल्य कम देखिएको छ। यस्तो अवस्थामा लगानीकर्ताले हालको बजार मूल्यकै ७० प्रतिशत कर्जा प्राप्त गर्न सक्छन्। यस सूचीमा कृषि विकास बैंक (ADBL), नेपाल बैंक (NBL), एनआइसी एशिया (NICA) लगायतका ठुला वाणिज्य बैंक, विकास बैंक र जलविद्युत कम्पनीहरू छन्।
जस्तै, कृषि विकास बैंकको १८० दिने औसत मूल्य ३११.७६ रुपैयाँ छ भने हालको बजार मूल्य ३०५ रुपैयाँ छ। यहाँ ३०५ रुपैयाँ कम भएकाले लगानीकर्ताले ३०५ को ७० प्रतिशत अर्थात् २१३.५ रुपैयाँ कर्जाको रूपमा प्राप्त गर्छन्। यो समूहमा रहेका कम्पनीहरूमा मार्जिन कारोबार गर्दा लगानीकर्तालाई नगदको भार कम पर्ने देखिन्छ।
क्षेत्रगत अवस्था र मार्जिन आकर्षण
उपलब्ध सूची अनुसार वाणिज्य बैंक, जलविद्युत र फाइनान्स कम्पनीहरूमा मार्जिन कर्जाको आकर्षण बढी देखिन्छ। विशेष गरी जलविद्युत क्षेत्रका धेरै कम्पनीहरूको मूल्य १८० दिने औसत भन्दा तल रहेकाले यस क्षेत्रमा मार्जिन कारोबार फस्टाउने देखिन्छ। यद्यपि, हिमालयन डिष्टिलरी (HDL) र छिमेक लघुवित्त (CBBL) जस्ता महँगा शेयर भएका कम्पनीहरूमा भने १८० दिने औसत मूल्य कम भएकाले पूर्ण ७० प्रतिशत कर्जा पाउन कठिन छ।
नोट: यो समाचार उपलब्ध तथ्याङ्क र बजारको प्रचलित नियमका आधारमा तयार पारिएको हो। लगानी गर्नु अघि आफ्नै स्रोत र ब्रोकरसँग विस्तृत जानकारी लिनु होला।