साना तथा कमजोर संस्थाहरूले स्वेच्छाले वा बाध्यात्मक रूपमा ठूला संस्थाहरूसँग हातेमालो गर्न थालेपछि यसले वित्तीय बजारमा नयाँ तरङ्ग पैदा गरेको छ।
पछिल्लोपटक फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तले मर्जरको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका छन्। थोक कारोबार गर्ने १ अर्ब ३४ करोड चुक्ता पुँजी भएको फर्स्ट माइक्रोफाइनान्स र खुद्रा कारोबार गर्ने २१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी भएको महिला लघुवित्तबीच गत सोमबार सम्झाैता भएकाे थियाे ।
फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तभन्दा ठीक अगाडि पनि थुप्रै लघुवित्त संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन्। सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्तबीच २०८३ साउन १८ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ भने जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले त्रिपक्षीय मर्जर सम्झौता गरी २०८३ असार मसान्तभित्र जीवन विकास लघुवित्तको नाममा एकीकृत कारोबार गर्ने योजनासहित प्रक्रिया अघि बढाएका थिए। यसअघि नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त आपसमा गाभिएर 'नेरुडे मिर्मिरे लघुवित्त' को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् भने साधना लघुवित्त र सबैको लघुवित्त तथा आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त पनि मर्जर प्रक्रियामा गइसकेका छन्।
यसरी लघुवित्तहरूले एकतापछि एकताको मार्ग रोज्नुको पछाडि मुख्यतया आन्तरिक र बाह्य थुप्रै कारणहरू जिम्मेवार छन्। कुनै समय झन्डै १ सयको हाराहारीमा रहेका लघुवित्तहरु अहिले ५० भन्दा पनि तल झरिसकेका छन् । स्वतस्फुर्त मर्जरको पहिलो र प्रमुख कारण खराब कर्जाको उच्च चाप र असुलीमा देखिएको गम्भीर समस्या हो। पछिल्लो समय लघुवित्तहरूमा खराब कर्जाको आकार ५ देखि १५ प्रतिशतभन्दा माथि पुगेको छ। कर्जा नउठेपछि र विभिन्न समूहबाट विरोध तथा असहयोग भएपछि साना र कमजोर संस्थाहरू एक्लै टिक्न नसक्ने अवस्थामा पुगेका छन्। जोखिम न्यूनीकरण र खराब कर्जाको भार बाँड्न उनीहरू मर्जको विकल्प रोज्न बाध्य छन्।
दोस्रो, नियामकीय कडाइ र पुँजीकोषको दबाब पनि उत्तिकै कारक बनेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्तहरूको चुक्ता पुँजी, जोखिमयुक्त सम्पत्ति र कर्जा लगानीको दायरामा कडाइ गर्दै लगेको छ। वित्तीय सूचकहरू कमजोर हुँदै गएका र तोकिएको पुँजीकोष अनुपात कायम गर्न कठिन भएपछि साना संस्थाहरू ठूला संस्थाहरूको छातामुनि ओत लाग्न पुगेका हुन्।

तेस्रो कारणमा अस्वस्थ प्रतिस्पर्धा र सञ्चालन खर्च नियन्त्रण रहेको छ। एउटै क्षेत्रमा धेरै लघुवित्तहरू पुग्दा ग्राहक खोसखोस गर्ने प्रवृत्ति बढेको छ। यसले गर्दा प्रशासनिक खर्च, कर्मचारीको तलब र कार्यालय सञ्चालन खर्च धान्न मुस्किल परेको छ। संस्थाको आकार ठूलो बनाएर लागत घटाउन मर्जर अपरिहार्य बन्दै गएको छ।
त्यस्तै, भविष्यको सुरक्षा र अस्तित्वको लडाइँ पनि अर्को महत्त्वपूर्ण पक्ष हो। बजारमा जसरी आलोचना र नियमनको दबाब बढ्दै गएको छ, त्यसले आगामी दिनमा कमजोर संस्था खारेज वा समस्याग्रस्त घोषित हुने जोखिम बढाएको छ। त्यसैले समयमै बलियासँग मर्ज भएर आफ्ना लगानीकर्ताको शेयर सुरक्षित गर्नु नै बुद्धिमानी ठान्ने प्रवृत्ति सञ्चालकहरूमा देखिएको छ।
यसका साथै सम्भावित 'फोर्स मर्जर' (जबरजस्ती गाभिने) को डरले पनि काम गरेको छ। नेपाल राष्ट्र बैंकले संख्यात्मक रूपमा अत्यधिक बढेका लघुवित्तलाई घटाउन अप्रत्यक्ष रूपमा दबाब दिइरहेको छ। भोलि केन्द्रीय बैंकले जबरजस्ती मर्जमा पठाउँदा आफूले चाहेजस्तो साझेदार नपाइने र सर्तहरू प्रतिकूल हुने डरले पनि लघुवित्तहरू आफैँ अगाडि बढेर जोडी खोज्न सक्रिय भएका हुन्।
पछिल्लो समय स्वतस्फूर्त रूपमा लघुवित्त कम्पनीहरूको मर्जर भइरहेको छ। नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष एवं नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवका अनुसार खराब कर्जा बढेर पुँजीकोषमा दबाब परेपछि स्वतस्फूर्त रूपमा पुँजीकोष बलिया भएका कम्पनीहरूसँग मर्जर गर्ने क्रम बढेको हो।
लघुवित्त क्षेत्रमा देखिएको यो मर्जरको लहरलाई संकट टार्ने प्रभावकारी अस्त्र र अस्तित्व बचाउने एकमात्र उपायका रूपमा हेरिएको छ। यसले एकातिर छरिएर रहेका साना संस्थाहरूलाई सबल बनाउन सहयोग पुर्याउनेछ भने अर्कोतर्फ वित्तीय स्थायित्व कायम गर्दै सेवालाई अझ बढी प्रभावकारी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।