कम्पनीले उक्त एसयूभी खरिदमा ३ लाख रुपैयाँसम्मको छुट घोषणा गरेको हो।
नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक्स्पोमा एचएसका प्लग–इन हाइब्रिड (पीएचईभी) र हाइब्रिड (एचईभी) दुवै भर्सनमा उक्त छुट उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार एचएस प्लग–इन हाइब्रिडको नियमित मूल्य १ करोड ३९ लाख ९९ हजार रुपैयाँ र एचईभीको १ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । एक्स्पो अफरअन्तर्गत ग्राहकले पीएचईभी १ करोड ३६ लाख ९९ हजार रुपैयाँ र एचईभी १ करोड १६ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् ।
छुटबाहेक ग्राहकले एक वर्षको अटो प्लस इन्स्योरेन्स निःशुल्क पाउने सुविधा पनि कम्पनीले घोषणा गरेको छ । एमजी एचएसमा १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनसँग १३५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटरको संयुक्त पावर २९५ बीएचपी रहेको छ । कम्पनीका अनुसार यही पावरका कारण एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.१ सेकेन्डमै हासिल गर्न सक्छ ।
एचएस प्लग–इन हाइब्रिडको मुख्य आकर्षण यसको विद्युतीय रेन्ज हो । कम्पनीले एकपटक चार्ज गर्दा १२० किलोमिटरसम्म प्योर इलेक्ट्रिक रेन्ज दिने दाबी गरेको छ । विभिन्न परीक्षणमा समेत ११० किलोमिटरभन्दा बढी प्योर ईभी रेन्ज प्राप्त भएको कम्पनीको भनाइ छ ।

इन्धन खपत र कार्बन उत्सर्जनका हिसाबले पनि एचएस हाइब्रिडलाई प्रभावकारी मानिएको छ । कम्पनीका अनुसार यसले प्रतिकिलोमिटर करिब १२ ग्राम मात्रै कार्बन उत्सर्जन गर्छ । एसयूभीमा ५०७ लिटर क्षमताको बुट स्पेस रहेको छ । त्यस्तै, ड्यासबोर्डमा दुईवटा १२.३ इन्चका स्क्रिन, १९ इन्चको एलोय ह्विल, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामेरा र किलेस इन्ट्रीजस्ता सुविधा छन् ।
यसका अतिरिक्त भेन्टिलेटेड फ्रन्ट सिट, हेडअप डिस्प्ले र वायरलेस स्मार्टफोन चार्जिङलगायतका सुविधा पनि उपलब्ध छन् ।
एमजीले एचएसको मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर, जुन पहिले आउँछ, सो अवधिको वारेन्टी उपलब्ध गराएको छ ।