मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Aug 14, 2026 11:27 AM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीस्थित नरसिंह भगवान् मन्दिरको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कीर्ते कागजात खडा गरेको आरोपमा मुद्दा दायर गरेकाे छ । आयोगले मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा तत्कालीन कर्मचारी र बिचौलियासहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मन्दिरको जग्गा पुजारी र कर्मचारीहरूको मिलोमतोमा हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार पुष्टि भएपछि आयोगले सोमबार आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार सुनसरीको साविक भदगाउँ सिनवारी गाविस–४ (हाल रामधुनी नगरपालिका–२) मा रहेको मन्दिरको १० कठ्ठा ५ धुर जग्गा तत्कालीन कर्मचारीहरूको आपसी मिलोमतोमा पुजारी टिरु चौधरीको नाममा नामसारी गरिएको थियो। यसका लागि साविक धरान नगरपालिकाको वडा कार्यालय र गाविस कार्यालयबाट झुटा सर्जमिन मुचुल्का तयार पारी नाता प्रमाणित समेतका नक्कली कागजात बनाइएको अनुसन्धानबाट खुलेको छ। उक्त जग्गाको हालको न्यूनतम मूल्याङ्कन ३६ लाख १० हजार रुपैयाँ कायम गरिएको छ।

यस प्रकरणमा धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, साविक सिनवारी गाविसका तत्कालीन सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन अधिकृतहरू सुशिल बैद्य, तुङ्गनाथ भण्डारी र केदारबहादुर कार्कीलाई प्रतिवादी बनाइएको छ। तत्कालीन गाविस सचिव दाहालले जग्गा नामसारी गर्ने प्रक्रियामा सहयोग गरेबापत पुजारी टिरु चौधरीबाट ५ हजार रुपैयाँ घुस समेत लिएको अख्तियारको ठहर छ।

त्यसैगरी, जग्गा आफ्नो नाममा ल्याउने पुजारी टिरु चौधरी र मतियारको भूमिका खेल्ने स्थानीय जग्गा कारोबारी पंकज घिमिरेलाई पनि मुख्य कसुरदार सरहकै सजाय माग गरिएको छ। धरान नगरपालिका वडा नं. १४ का तत्कालीन वडा सचिव उत्तम आलेविरुद्ध पनि झुटा मुचुल्का तयार पारेको अभियोगमा मुद्दा चलाइएको छ।

आयोगले सबै प्रतिवादीहरूबाट ३६ लाख १० हजार रुपैयाँ बिगो असुल उपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ। साथै, व्यक्तिको नाममा दर्ता भइसकेको उक्त सार्वजनिक जग्गा जफत गरी पुनः मन्दिरकै नाममा कायम गर्न समेत विशेष अदालतसँग माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।