अर्थ मन्त्रालयमा हेरफेर: धनीराम शर्मा एडिबी जाने, प्रवक्ताको जिम्मेवारी कविता रेग्मीलाई

Aug 14, 2026 02:09 PM Merolagani



अर्थ मन्त्रालयले प्रशासनलाई चुस्त बनाउने उद्देश्यले चार जना वरिष्ठ सहसचिवहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। मन्त्रालयले सहसचिवहरू धनीराम शर्मा, अमृत लम्साल, देवराज जोशी र कविता रेग्मी पौड्यालको कार्यविभाजनमा परिवर्तन गरेको हो।

अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुखको रूपमा कार्यरत सहसचिव धनीराम शर्मा फिलिपिन्सको मनिलास्थित एसियाली विकास बैंक (एडिबी) मा वैकल्पिक कार्यकारी निर्देशकका रूपमा जाने भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा मनोनयन गर्ने निर्णय गरिसकेको छ। हाल सो पदमा रहेका सहसचिव श्रीकृष्ण नेपाल ५८ वर्षको उमेर हदका कारण आगामी भदौ १५ गते अनिवार्य अवकाशमा जाँदैछन्।

शर्मा एडिबी जाने भएपछि मन्त्रालयको अत्यन्तै महत्त्वपूर्ण मानिने अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा (वैदेशिक सहायता समन्वय) को जिम्मेवारी सहसचिव अमृत लम्साललाई दिइएको छ। लम्साल यसअघि योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए।

मन्त्रालयले सहसचिव कविता रेग्मी पौड्याललाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी सुम्पेको छ। यसका साथै उनलाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समेत तोकिएको छ। मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखका रूपमा सफल कार्यसम्पादन गरेकी पौड्याल लेखा अधिकृतबाट सिधै सहसचिव बनेकी र मन्त्रालयमा 'कुशल' कर्मचारीको रूपमा परिचित छिन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट सरुवा भई अर्थ मन्त्रालय आएका सहसचिव देवराज जोशीलाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। मन्त्रालयले आर्थिक नीति विश्लेषण र वित्तीय सङ्घीयता समन्वय महाशाखालाई अलग-अलग राखे पनि वित्तीय सङ्घीयता महाशाखा भने हाल नेतृत्वविहीन रहेको छ।

यो हेरफेरले मन्त्रालयको नीतिगत विश्लेषण, वैदेशिक सहायता परिचालन र योजना कार्यान्वयनमा नयाँ उर्जा आउने अपेक्षा गरिएको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।