ऊर्जा उत्पादकहरूले भेटे रविलाईः नयाँ विद्युत् विधेयक ल्याउन माग

Aug 16, 2026 05:22 PM Merolagani



स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण र विद्युत् व्यापारलगायत समग्र ऊर्जा क्षेत्रमा सहभागी गराउने गरी नयाँ विद्युत् विधेयक ल्याउन माग गरेको छ।

इप्पान अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई भेटी ऊर्जा क्षेत्रको विकास र लगानीमैत्री वातावरण निर्माणका लागि तत्काल गर्नुपर्ने नीतिगत तथा कानुनी सुधारबारे ध्यानाकर्षण गराएको हो।

इप्पानले लामो समयदेखि रोकिएको करिब १७ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरेको छ। पीपीए रोकिँदा निजी लगानी निष्क्रिय हुनुका साथै विद्युत् उत्पादन विस्तार प्रभावित भएको इप्पानको भनाइ छ।

त्यस्तै, प्रसारण पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने र विद्युत् आयात–निर्यात तथा अन्तरदेशीय व्यापारमा समेत निजी क्षेत्रलाई कानुनी रूपमा सहभागी गराउनुपर्ने माग गरिएको छ।

वन, वातावरण, जग्गा प्राप्ति तथा विभिन्न निकायबाट स्वीकृति लिने प्रक्रियामा हुने ढिलाइ हटाउन एकद्वार प्रणाली र समयसीमासहितको स्वीकृति व्यवस्था गर्नुपर्ने इप्पानले जनाएको छ। जलविद्युत् आयोजनालाई राष्ट्रिय प्राथमिकताका पूर्वाधारका रूपमा मान्यता दिई लगानी सुरक्षा तथा आयोजना निर्माणमा हुने अवरोधको दीर्घकालीन समाधान गर्नुपर्ने माग पनि गरिएको छ।

संघ, प्रदेश र स्थानीय तहबीच आयोजना विकाससम्बन्धी अधिकारक्षेत्र स्पष्ट गर्नुपर्नेमा समेत इप्पानले जोड दिएको छ। भेटमा अध्यक्ष डाँगीले सरकारले अघि सारेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न निजी क्षेत्र लगानी गर्न तयार रहेको बताए। उनले नयाँ विद्युत् विधेयक, वनसम्बन्धी समस्या र पीपीए खुलाउने विषयमा सरकारको सहयोग आवश्यक रहेको बताए।

रास्वपा अध्यक्ष लामिछानेले निजी क्षेत्रको लगानी प्रवर्द्धन र सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए। उनले विद्युत् व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रको सहभागिता आवश्यकता मात्र नभई अपरिहार्य भएको धारणा राखे।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।