साउनमा १९१ विदेशी लगानीका परियोजना स्वीकृत, ३ अर्ब ७७ करोड प्रतिबद्धता

Aug 18, 2026 11:24 AM Merolagani



चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन्। 

उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार ती परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो। स्वीकृत परियोजनामध्ये सबैभन्दा धेरै सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्रमा छन्। आईसीटीतर्फ १२८ वटा परियोजना स्वीकृत भएका छन्, जसमा ५६ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको प्रतिवेदनमा उल्लेख छ।

पर्यटन क्षेत्रमा ३३ वटा परियोजना स्वीकृत भएका छन्। यस क्षेत्रमा १ अर्ब ६३ करोड ७८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। त्यस्तै, सेवा क्षेत्रमा १९ वटा परियोजनाका लागि ६८ करोड २० लाख रुपैयाँ प्रतिबद्धता आएको छ। उत्पादनमूलक क्षेत्रमा ९ वटा परियोजना स्वीकृत भएका छन् भने त्यसका लागि ८४ करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। ऊर्जा र कृषि तथा वनमा आधारित क्षेत्रमा भने एक–एक वटा परियोजना स्वीकृत भएका छन्। दुवै क्षेत्रमा २–२ करोड रुपैयाँ लगानी प्रतिबद्धता रहेको छ।

प्रतिवेदनअनुसार खनिज तथा पूर्वाधार क्षेत्रमा भने साउनमा कुनै विदेशी लगानी परियोजना स्वीकृत भएको देखिँदैन।

परियोजनाको संख्याका आधारमा आईसीटी क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। कुल १९१ परियोजनामध्ये १२८ वटा अर्थात् करिब ६७ प्रतिशत परियोजना आईसीटी क्षेत्रका छन्। पर्यटनका परियोजनाको हिस्सा १७ प्रतिशत र सेवा क्षेत्रको १० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

उद्योग विभागको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८३/८४ को साउन अवधि जुलाई १७ देखि अगस्ट १६, २०२६ सम्मको हो। यस अवधिमा विदेशी लगानीसँग सम्बन्धित अन्य वित्तीय गतिविधिसमेत भएका छन्। प्रतिवेदनमा साउनमा रोयल्टीतर्फ २४ करोड २१ लाख ९३ हजार ३८० रुपैयाँ ३६ पैसा तथा अमेरिकी डलरमा ६ लाख ३३ हजार ६६६ दशमलव ९७ बराबरको रकम उल्लेख गरिएको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।