विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी

Aug 19, 2026 12:58 PM Merolagani



उज्यालो नेपाल पार्टीले विद्युत महशुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको वक्यौता उठाउन माग गर्दै शुरु गरेको हस्ताक्षर अभियान जारी छ । बुधवार पनि संघीय राजधानीको माईतीघर मण्डलामा हस्ताक्षर अभियान चलिरहेको हो ।

सरकारले चालु आर्थिक वर्षदेखि विद्युत महशुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टी आन्दोलित भएको हो । सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सचिवालय सदस्य राजेन्द्र अवस्थीले नेपाल जलस्रोतमा धनी देश भएपनि सरकारले जलविद्युतलाई समृद्धिको आधार बनाउनुको सट्टा जनतालाई थप आर्थिक भार थोपर्ने काम गरेको आरोप लगाए।

पार्टीले विद्युत महशुलमा लगाइएको भ्याट तत्काल हटाउनुपर्ने र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उद्योगीहरूबाट उठ्न बाँकी रहेको महशुल उठाउन सरकारले तदारुकता देखाउनुपर्ने माग अघि सारेको छ । सरकारलाई पटक–पटक सुझाव दिँदा पनि बेवास्ता गरिएकाले दबाब सिर्जना गर्न सडकमा उत्रिनुपरेको पार्टीको भनाइ छ ।

उनले भने, ‘हामी जलस्रोतमा धनी छौँ र हाम्रो समृद्धिको मुख्य आधार नै जलविद्युत हो भन्ने हाम्रो मान्यता छ । तर सरकारले यस क्षेत्रलाई उचित प्राथमिकता दिनुको साटो उल्टै विद्युतमा भ्याट लगाएर सर्वसाधारणलाई मर्कामा पारेको छ ।’

माईतीघरबाट शुरु भएको यो हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा विस्तार गरिने पार्टीले जनाएको छ । जनतालाई प्रत्यक्ष आर्थिक भार पर्ने सरकारी निर्णयको विरुद्धमा सबै नागरिकको समर्थन जुटाउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको सचिवालय सदस्य अवस्थीले जानकारी दिए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।