बिजुली चुहावट बढेर १०.४४ प्रतिशत पुग्यो, यदि बिक्रीमा गएको भए एनइएले थप १४ अर्ब कमाउन सक्थ्यो (यस्तो छ हिसाब)

Aug 22, 2026 11:09 AM Merolagani



हरिप्रसाद शर्मा

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई बिक्रीयोग्य ऊर्जामा रूपान्तरण गर्न सकेकाे भए आर्थिक वर्ष २०८२/८३ मा करिब १४ अर्ब रुपैयाँ थप बिक्री आम्दानी गर्न सक्ने थियाे।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको वार्षिक प्रतिवेदनमा रहेको बिक्री,औसत बिक्री आम्दानी र वितरण चुहावटको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो।

प्रतिवेदनअनुसार २०८२/८३ मा वितरण प्रणालीको विद्युत् चुहावट १०.४४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो चुहावट १०.३९ प्रतिशत थियो। अर्थात् विद्युत् बिक्री र वितरण पूर्वाधार विस्तार भइरहँदा पनि चुहावट दरमा सुधार आउन सकेन।

सो वर्ष प्राधिकरणले १२.३७६ अर्ब युनिट विद्युत् बिक्री गरेको थियो। बिक्री अघिल्लो वर्षको तुलनामा ९.६४ प्रतिशतले बढेको हो। त्यस्तै वितरणतर्फ विद्युत् बिक्रीबाट प्राप्त औसत आम्दानी ९.६९ प्रतियुनिट रहेको प्रतिवेदनले देखाउँछ।

बिक्री भएको ऊर्जालाई आधार बनाएर १०.४४ प्रतिशत चुहावटको परिमाण अनुमान गर्दा वितरण प्रणालीमा करिब १.४४ अर्ब युनिट विद्युत् चुहावट भएको देखिन्छ। उक्त ऊर्जा पनि ग्राहकलाई बिक्री गर्न सकेको भए र हालकै औसत बिक्री आम्दानी ९.६९ प्रतियुनिट कायम रहेको भए करिब १४ अर्ब थप बिक्री आम्दानी हुने थियो।

तर यो एनइएले वास्तविक रूपमा १४ अर्ब गुमाएको रकम भने होइन। यो उपलब्ध बिक्री र चुहावटको तथ्यांकलाई औसत बिक्री आम्दानीसँग जोडेर गरिएको गणितीय अनुमान मात्रै हो।

पूर्वाधार थपिँदा पनि चुहावट बढ्यो

चुहावट नियन्त्रणकै बीच प्राधिकरणले वितरण पूर्वाधारमा ठूलो विस्तार गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा ३३ केभीका १९२.५२ सर्किट किलोमिटर, ११ केभीका १,१६४.७६ सर्किट किलोमिटर र ०.४/०.२३ केभीका ६,६९९.७७ सर्किट किलोमिटर लाइन थपिएका छन्। यसै अवधिमा ७,३२३ वटा वितरण ट्रान्सफर्मर थपिएका छन्, जसबाट कुल ९१६.१९ एमभीए क्षमता वृद्धि भएको छ।

वितरण प्रणालीमा १० वटा नयाँ ३३/११ केभी सबस्टेसनसमेत सञ्चालनमा ल्याइएको छ। अर्थात् एकातर्फ वितरण प्रणालीमा नयाँ लाइन, ट्रान्सफर्मर र सबस्टेसन थपिँदै गएको छ भने अर्कोतर्फ सोही प्रणालीबाट हुने ऊर्जा चुहावट भने १० प्रतिशतभन्दा माथि छ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि वितरण प्रणालीको स्वचालन, ऊर्जा लेखांकन, नियमित अनुगमन र बढी चुहावट हुने क्षेत्र पहिचान गर्ने काम अघि बढाएको जनाएको छ। ऊर्जा दक्षता बढाउने र वितरण प्रणालीको सञ्चालन खर्च घटाउने लक्ष्य प्राधिकरणले राखेको छ।

बिक्री र राजस्व बढ्दा पनि चुनौती कायमै

आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीसँगै वितरणतर्फको आम्दानी पनि बढेको छ। प्रतिवेदनअनुसार विद्युत् बिक्रीबाट प्राप्त राजस्व ११९.८८ अर्ब पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९.७६ प्रतिशत बढी हो। यसैबीच प्रतिव्यक्ति विद्युत् खपत ३९४.६९ युनिटबाट बढेर ४१८.३१ युनिट पुगेको छ। विद्युत्को माग र बिक्री दुवै बढिरहेको अवस्थामा वितरण चुहावट नियन्त्रण गर्न सके प्राधिकरणले थप विद्युत् बिक्री र आम्दानीको अवसर पाउने देखिन्छ।

 

प्राधिकरणको वितरणतर्फको सञ्चालन तथा मर्मतसम्भार खर्च पनि प्रतियुनिट रु. १.७४ बाट घटेर रु १.०६ मा आएको छ। यसले वितरण प्रणालीको सञ्चालन दक्षतामा सुधार भएको संकेत गरे पनि चुहावटमा भने त्यसअनुसारको सुधार देखिएको छैन। अब प्राधिकरणका लागि नयाँ पूर्वाधार थप्ने मात्र नभई त्यसबाट हुने ऊर्जा चुहावट घटाएर बिक्रीयोग्य विद्युत् बढाउने चुनौती प्रमुख बनेको छ।

हालको औसत बिक्री आम्दानीलाई आधार मान्दा मात्रै पनि करिब १.४४ अर्ब युनिट बराबरको चुहावट बिक्रीमा ल्याउन सके करिब १४ अर्ब रुपैयाँको अतिरिक्त बिक्री आम्दानीको सम्भावना देखिन्छ। त्यसैले १०.४४ प्रतिशतको चुहावट प्राधिकरणका लागि प्राविधिक समस्या मात्र नभई ठूलो व्यावसायिक अवसर र आर्थिक चुनौती समेत बनेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।