साउनमा हाइड्रोको दबदबा, कुल कारोबारको ४६ प्रतिशत हिस्सा

Aug 20, 2026 05:59 AM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पछिल्लो साउन महिनाको मासिक तथ्यांकले शेयर बजारमा लगानीकर्ताको कारोबार जलविद्युत् कम्पनीतर्फ अत्यधिक केन्द्रित भएको देखाएको छ।

एक महिनामा भएको कुल ९५ अर्ब ३५ करोड ३३ लाख बराबरको शेयर कारोबारमध्ये जलविद्युत् समूहको मात्रै हिस्सा ४६.१७ प्रतिशत रहेको छ। नेप्सेको तथ्यांकअनुसार गत असार महिनामा जलविद्युत् समूहमा ४४ अर्ब २ करोड ७ लाख बराबरको कारोबार भएको छ। अघिल्लो अवधिमा ३० अर्ब ४९ करोड ६६ लाख बराबरको कारोबार भएकोमा पछिल्लो महिना जलविद्युत् समूहको कारोबार ३३.१९ प्रतिशतले बढेको हो। यसरी हेर्दा साउन महिनामा नेप्सेमा कारोबार भएको प्रत्येक १०० रुपैयाँमध्ये करिब ४६ रुपैयाँ जलविद्युत् कम्पनीका शेयरमा कारोबार भएको देखिन्छ।

तीन समूहमा करिब ७० प्रतिशत कारोबार

समग्र साउनमा जलविद्युत पछि वाणिज्य बैंक र उत्पादन तथा प्रशोधन समूहमा बढी कारोबार भएको छ।वाणिज्य बैंक समूहमा  ११ अर्ब २१ करोड ५६ लाख बराबरको कारोबार भएको छ। यो कुल कारोबारको ११.७६ प्रतिशत हो। अघिल्लो अवधिको तुलनामा वाणिज्य बैंकको कारोबार १७.२३ प्रतिशतले बढेको छ। त्यस्तै उत्पादन तथा प्रशोधन समूहमा  १० अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ। कुल कारोबारमा यसको हिस्सा ११.३३ प्रतिशत छ र अघिल्लो अवधिको तुलनामा कारोबार १०.४४ प्रतिशतले बढेको छ।

यसरी जलविद्युत्, वाणिज्य बैंक र उत्पादन तथा प्रशोधन तीन समूहमा मात्रै कुल शेयर कारोबारको करिब ६९.३ प्रतिशत केन्द्रित भएको छ।

विकास बैंकमा सबैभन्दा तीव्र वृद्धि

कारोबार रकमको हिस्साका हिसाबले जलविद्युत् अगाडि रहे पनि वृद्धिदरका हिसाबले विकास बैंक अझ अगाडि देखिएको छ। साउन महिनामा विकास बैंकमा  ६ अर्ब ३४ करोड ३३ लाख बराबरको कारोबार भएको छ। अघिल्लो अवधिको रु. ४ अर्ब ५२ करोड ८१ लाखको तुलनामा कारोबार रकम ४०.३३ प्रतिशतले बढेको हो। कुल बजार कारोबारमा विकास बैंकको हिस्सा भने ६.६५ प्रतिशत छ।

फाइनान्स समूहको कारोबार २.९६ प्रतिशतले बढेर रु. ५ अर्ब १६ करोड ५४ लाख पुगेको छ। यसको कुल बजार कारोबारमा हिस्सा ५.४२ प्रतिशत छ। लगानी समूहको कारोबार १.८४ प्रतिशत बढेर रु. ४ अर्ब ५३ करोड १७ लाख पुगेको छ।

केही क्षेत्रमा भने कारोबार तीव्र रूपमा घट्यो

बजारको कारोबार जलविद्युत्, बैंक तथा केही क्षेत्रमा बढिरहँदा केही वित्तीय उपकरणमा भने कारोबार उल्लेख्य खुम्चिएको छ। डेबञ्चरको कारोबार ९४.९६ प्रतिशतले घटेर रु. १ अर्ब ३२ करोड १ लाख मा सीमित भएको छ। म्युचुअल फन्डको कारोबार पनि ५७.४७ प्रतिशतले घटेको छ। त्यस्तै प्रमोटर शेयरको कारोबार ३०.२४ प्रतिशत, गैरजीवन बीमाको २९.९४ प्रतिशत र होटल तथा पर्यटन समूहको २४.८८ प्रतिशतले घटेको छ। यसले पछिल्लो महिनामा शेयर बजारमा कारोबारको गतिविधि सबै क्षेत्रमा समान नभई केही निश्चित क्षेत्रमा बढी केन्द्रित भएको देखाउँछ।

कुल कारोबार भने ११ प्रतिशत घट्यो

क्षेत्रगत रूपमा केही समूहमा कारोबार बढे पनि समग्र बजारको कारोबार रकम भने घटेको छ। पछिल्लो अवधिमा कुल कारोबार ९५ अर्ब ३५ करोड ३३ लाख रहेको छ। अघिल्लो अवधिमा यस्तो कारोबार १ खर्ब ७ अर्ब २५ करोड ४४ लाख थियो। यसअनुसार कुल कारोबार रकम ११.१० प्रतिशतले घटेको छ।

तर कारोबार भएका दिन पनि अघिल्लो अवधिको २४ दिनबाट घटेर २१ दिन भएका छन्। त्यसैले प्रतिदिनको औसत कारोबार भने उल्टै बढेको छ। अघिल्लो अवधिमा दैनिक औसत करिब रु. ४ अर्ब ४६ करोड रहेकोमा पछिल्लो अवधिमा करिब रु. ४ अर्ब ५४ करोड पुगेको छ।

‘पैसा सरेको’ भन्दा कारोबारको केन्द्र बदलेको

क्षेत्रगत कारोबारको तथ्यांकले जलविद्युत् क्षेत्रमा लगानीकर्ताको कारोबार चाप उच्च रहेको देखाए पनि यसलाई लगानीकर्ताको यति रकम अन्य क्षेत्रबाट हाइड्रोतर्फ सरेको भनेर निष्कर्ष निकाल्न भने मिल्दैन। किनकि कारोबार रकम बढ्नुको अर्थ नयाँ पैसा भित्रिएको मात्रै नभई एउटै शेयरमा किनबेचको मात्रा बढ्नु पनि हुन सक्छ।

तर तथ्यांकले भने स्पष्ट रूपमा देखाएको छ—पछिल्लो महिनाको नेप्से कारोबारमा जलविद्युत् क्षेत्र एक्लैले झण्डै आधा हिस्सा ओगटेको छ, जबकि विकास बैंकको कारोबार वृद्धिदर ४० प्रतिशतभन्दा माथि पुगेको छ।यसले समग्र बजार सुस्त देखिए पनि क्षेत्रगत रूपमा लगानीकर्ताको चासो र कारोबारको केन्द्र भने केही समूहमा तीव्र रूपमा केन्द्रित भइरहेको संकेत गर्छ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।