उक्त वर्ष ब्रोकरमार्फत १६ खर्ब १ अर्ब ८७ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको थियो।कुल कारोबार रकमको तुलनामा ब्रोकरले पाएको कमिसन करिब ०.४३ प्रतिशत बराबर हो। तर ब्रोकर व्यवसायबाट भएको कमिसन आम्दानी सबै कम्पनीमा समान रूपमा बाँडिएको छैन। नेप्सेको वार्षिक तथ्यांकमा रहेका ९४ ब्रोकरमध्ये शीर्ष २० ब्रोकरले मात्रै ३ अर्ब ५७ करोड ४२ लाख ४७ हजार कमिसन आम्दानी गरेका छन्। यो कुल ब्रोकर कमिसनको ५१.८६ प्रतिशत हो। बाँकी ७४ ब्रोकरले ३ अर्ब ३१ करोड ७६ लाख ६९ हजार कमिसन आम्दानी गरेका छन्। उनीहरूको संयुक्त हिस्सा ४८.१४ प्रतिशत छ।

शीर्ष १० को हिस्सा ३३.६७ प्रतिशत
शीर्ष १० ब्रोकरले मात्रै २ अर्ब ३२ करोड ४ लाख ३० हजार कमिसन आम्दानी गरेका छन्। यो कुल कमिसनको ३३.६७ प्रतिशत हो। वार्षिक रूपमा सबैभन्दा धेरै कमिसन कमाउने ब्रोकर नासा सेक्युरिटिज कम्पनी रहेको छ। नासाले वर्षभरिमा ४७ करोड १८ लाख ४० हजार ८४४ कमिसन आम्दानी गरेको छ।

त्यसपछि भिजन सेक्युरिटिजले २५ करोड ८६ लाख ५० हजार ८३१, सानी सेक्युरिटिजले २४ करोड ८६ लाख ३७ हजार ६७०, इम्पेरियल सेक्युरिटिजले २४ करोड ५२ लाख ६१ हजार ४६९ र अनलाइन सेक्युरिटिजले २२ करोड २३ लाख २० हजार ५५५ कमिसन आम्दानी गरेका छन्। यसरी शीर्ष पाँच ब्रोकरले मात्रै करिब १ अर्ब ४४ करोड कमिसन आम्दानी गरेका छन्।
साउनमा पनि नासा नै अगाडि
नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा भने ब्रोकर कम्पनीहरूले ४१ करोड २७ लाख ३६ हजार ७८३ कमिसन आम्दानी गरेका छन्। साउनभर ब्रोकरमार्फत ९५ अर्ब ३५ करोड ३३ लाख ९० हजार बराबरको शेयर कारोबार भएको छ। साउनको कारोबार रकमको तुलनामा ब्रोकर कमिसन पनि करिब ०.४३ प्रतिशत बराबर रहेको छ।

एक महिनाको कमिसन आम्दानीमा पनि नासा सेक्युरिटिज पहिलो स्थानमा छ। नासाले साउनमा मात्रै ३ करोड ८२ लाख २४ हजार १४० कमिसन आम्दानी गरेको छ। सानी सेक्युरिटिजले १ करोड ४० लाख ३८ हजार, इम्पेरियल सेक्युरिटिजले १ करोड ३२ लाख ४८ हजार र भिजन सेक्युरिटिजले १ करोड ३२ लाख १४ हजार कमिसन कमाएका छन्।
साउनमा शीर्ष १० ब्रोकरले मात्रै १४ करोड ३१ लाख २४ हजार कमिसन उठाएका छन्। यो महिनाभर सबै ब्रोकरले कमाएको कुल कमिसनको ३४.६८ प्रतिशत हो। यसरी वार्षिक र मासिक दुवै तथ्यांकले शेयर कारोबारबाट हुने ब्रोकर कमिसनमा सीमित ठूला ब्रोकरको हिस्सा उल्लेख्य रहेको देखाएको छ।
