नेपालसहित चार देशबीच भन्सारको पूर्वआगमन सूचना आदानप्रदान गर्ने समझदारी

Aug 20, 2026 02:37 PM Merolagani



दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत नेपालसहित चार मुलुकका भन्सार प्रशासनबीच मालवस्तुको पूर्वआगमन सूचना आदानप्रदान गर्ने ऐतिहासिक समझदारी भएको छ। 

नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो सम्झौता गरिएको हो। भन्सार विभागले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार माल्दिभ्समा आयोजित एसएएसईसीको १४औँ ‘कस्टम सबग्रुप मिटिङ’का अवसरमा चारै देशका भन्सार प्रमुखहरूले समझदारीपत्रमा हस्ताक्षर गरे। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

अन्तर्राष्ट्रियस्तरमा प्रचलित अभ्यासअनुसार व्यापारिक साझेदार मुलुकबीच निकासी गरिने वस्तुको अग्रिम तथ्याङ्क आदानप्रदान गर्दा जोखिम व्यवस्थापन गर्न सहज हुन्छ। नयाँ समझदारीले अब क्षेत्रीयस्तरमा पनि यो अभ्यासलाई विस्तार गर्नेछ। मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुअघि नै त्यससम्बन्धी सूचना सदस्य राष्ट्रहरूलाई प्राप्त हुने भएकाले भन्सारको नियन्त्रण थप प्रभावकारी बन्ने विभागले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “यसबाट मालवस्तु भन्सार कार्यालयमा आइपुग्नुअघि नै उपलब्ध सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न तथा छिटो र सहज रूपमा वस्तु जाँचपास गर्न सहयोग पुग्नेछ।” पूर्वआगमन सूचनाको आदानप्रदानले व्यापारिक प्रक्रियामा लाग्ने समय र लागत घटाउनुका साथै वैदेशिक व्यापारलाई थप पारदर्शी र पूर्वानुमान योग्य बनाउने अपेक्षा गरिएको छ।

नेपालले यसअघि भारतसँग पनि यस्तै प्रकृतिको समझदारी गरिसकेको छ। गत माघको पहिलो साता नयाँदिल्लीमा नेपालको भन्सार विभाग र भारतीय केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच पूर्वआगमन सूचना आदानप्रदानसम्बन्धी सम्झौता भएको थियो।

भारत र अन्य छिमेकी मुलुकहरूसँगको यो एकीकृत समझदारीले भन्सार प्रशासनबीचको सम्बन्ध बलियो बनाउने र निकासी हुने वस्तुको तथ्याङ्कका आधारमा जोखिम विश्लेषण गर्न मद्दत पुग्नेछ। यसबाट शङ्कास्पद वस्तुहरूको निगरानी र नियमन गर्न सहज हुनेछ भने सही कारोबार गर्ने व्यवसायीलाई छिटो र छरितो रूपमा भन्सार जाँचपासको सुविधा मिल्नेछ।

राज्यको आन्तरिक राजस्व र बाह्य व्यापारलाई व्यवस्थित गर्न यस्ता समझदारीले दीर्घकालीन रूपमा ठूलो सहयोग पुर्‍याउने विज्ञहरूले बताएका छन्।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।