अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर चार दशमलव ४३ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा कृषि क्षेत्रको वृद्धिदर एक दशमलव ५८ प्रतिशत, उद्योग क्षेत्रको पाँच दशमलव ६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर चार दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ।
समीक्षा अवधिमा मूल्यवृद्धि नियन्त्रणमै रहेको देखिएको छ। असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव १४ प्रतिशत रहेको छ भने आर्थिक वर्षको औसत मुद्रास्फीति तीन दशमलव शून्य आठ प्रतिशतमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा औसत मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ समूहको औसत मुद्रास्फीति एक दशमलव शून्य चार प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव २१ प्रतिशत रहेको छ।
मुलुकको बाह्य क्षेत्रका सूचकहरू अत्यन्तै सबल देखिएका छन्। समीक्षा वर्षमा कुल विदेशी विनिमय सञ्चिति ४५ दशमलव छ प्रतिशतले वृद्धि भई तीन खर्ब ८९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २५ अर्ब ३१ करोड पुगेको छ। कायम रहेको विदेशी विनिमय सञ्चितिले १९ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ। त्यसैगरी, चालु खाता नौ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ। समीक्षा वर्षमा विप्रेषण आप्रवाह ३७ दशमलव एक प्रतिशतले बढेर २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख छ हजार पाँच सय उन्नाइस र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख पचासी हजार सात सय त्रियासी रहेको छ।
वैदेशिक व्यापारतर्फ समीक्षा वर्षमा कुल वस्तु निर्यात १३ दशमलव आठ प्रतिशतले बढेर तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने आयात १६ दशमलव दुई प्रतिशतले बढेर २० अर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यसबाट कुल वस्तु व्यापार घाटा १७ खर्ब ८१ अर्ब नौ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ।
सरकारी वित्ततर्फ समीक्षा वर्षमा सरकारको कुल खर्च १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने कुल राजस्व परिचालन १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ भएको छ। नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव शून्य सात प्रतिशत हुन आउँछ।
मौद्रिक क्षेत्रतर्फ विस्तृत मुद्राप्रदाय १३ दशमलव चार प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन १३ दशमलव नौ प्रतिशतले बढेर आठ हजार दुई सय ७६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव पाँच प्रतिशतले बढेर पाँच हजार आठ सय ५७ अर्ब छ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात पाँच दशमलव ६६ प्रतिशत रहेको छ। पुँजी बजारको कुरा गर्दा, नेप्से सूचकाङ्क दुई हजार पाँच सय ९७ दशमलव ८० विन्दुमा कायम भएको छ र कुल बजार पुँजीकरण चार हजार चार सय ६३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।