बुधबार आएको आकस्मिक बाढीले रसुवा,नुवाकोट र धादिङ लगायतका जिल्लामा रहेका दर्जनौँ जलविद्युत् आयोजना,मानव बस्ती र भौतिक संरचनामा गम्भीर असर पारेको भन्दै इप्पानले गहिरो दुःख व्यक्त गरेको छ।
१४ आयोजना र ७५० मेगावाटभन्दा बढी क्षमता प्रभावित
इप्पानले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार बाढीले सञ्चालनमा रहेका र निर्माणाधीन गरी कम्तीमा १४ वटा ठूला आयोजनामा गम्भीर क्षति पुर्याएको छ । रसुवा जिल्लामा सञ्चालनमा रहेका ५ आयोजना (२३६ मेगावाट) र निर्माणाधीन ३ आयोजना (३४२.४२ मेगावाट) मा क्षति पुगेको छ।
सञ्चालनमा रहेका ४ आयोजना (१२३ मेगावाट) र निर्माणाधीन २ आयोजना (५२.६ मेगावाट) प्रभावित भएका छन्। विशेषगरी माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा बाढीले क्षति पुर्याउँदा भौतिक रूपमा सुरक्षित रहेका अन्य थुप्रै आयोजनाहरू पनि राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद हुन पुगेका छन्। आयोजनाका बाँध, पावर हाउस, पहुँचमार्ग र प्रसारण लाइनका टावरहरू बाढीले बगाएको वा क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको इप्पानले जनाएको छ।
उद्धार र खोजीलाई पहिलो प्राथमिकता दिन आग्रह
इप्पानले बाढी प्रभावित क्षेत्रमा फसेका कामदार, कर्मचारी र प्राविधिकहरूको तत्काल खोजी तथा उद्धारका लागि सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विशेष आग्रह गरेको छ। साथै, निजी क्षेत्रका ऊर्जा उद्यमीहरूलाई आफ्ना स्रोत, जनशक्ति र उपकरणसहित राहत कार्यमा खटिन इप्पानले निर्देशन दिएको छ।
नीतिगत सहजीकरण र पुनर्निर्माणको माग
बाढीबाट क्षतिग्रस्त आयोजनाहरूको यथाशीघ्र क्षति मूल्याङ्कन गरी पुनर्निर्माणका लागि राष्ट्रिय प्राथमिकता दिन इप्पानले सरकारसँग माग गरेको छ। ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा नीतिगत सहजीकरण, वित्तीय सहयोग र प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ। विशेषगरी बीमा दाबी प्रक्रियामा सहजीकरण गरिदिन पनि इप्पानले अनुरोध गरेको छ।
विपत्को यस घडीमा निजी क्षेत्रका छाता संगठन,बैंक तथा वित्तीय संस्था, निर्माण व्यवसायी र अन्य व्यावसायिक प्रतिष्ठानहरूलाई प्रभावित नागरिक र आयोजनाको पुनःस्थापनाका लागि सहयोग गर्न इप्पानले हार्दिक अपिल गरेको छ। इप्पानले बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन र अभिलेखीकरण गर्ने कार्यसमेत अघि बढाउने प्रतिवद्धता जनाएको छ।
विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरिएको छ।