पृथ्वी राजमार्ग पूर्ण रूपमा खुलाउने प्रयास अन्तिम चरणमा, बेलुकीसम्म सबै अवरोध हट्ने

Aug 28, 2026 01:30 PM merolagani



गत केही दिनदेखिको अविरल वर्षा र बाढी-पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सुचारु गराउने कार्य अन्तिम चरणमा पुगेको छ।

राजमार्गको विभिन्न खण्डमा खसेको पहिरो र लेदो हटाएसँगै यातायात सेवा क्रमिक रूपमा सञ्चालनमा आउन थालेको हो। प्राप्त जानकारी अनुसार, पृथ्वी राजमार्गको गल्छी–बैरेनी खण्ड हिजो बेलुकीदेखि नै एकतर्फी खुलेको छ र सवारी साधनहरू आवतजावत गरिरहेका छन्। त्यस्तै, बाढीले पुल बगाएर सडक नै छोपेको जरिखेत खण्डमा पनि थुप्रिएको लेदो र अवरोध हटाएपछि अहिले त्यहाँ यातायात सुचारु भएको छ।

अब राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन मलेखु क्षेत्रका केही स्थानमा मात्र काम बाँकी रहेको छ। मलेखु नजिकैका पोखरी, बाङ्गे र गलौदी क्षेत्रमा करिब ७०० मिटर सडकखण्डमा थुप्रिएको लेदो हटाउने काम आज तीव्र रूपमा भइरहेको छ।

सडक विभाग र सम्बन्धित निकायका अनुसार यो खण्डको अवरोध हटाउन आज बेलुकीसम्म लाग्न सक्ने अनुमान गरिएको छ। पोखरी(गलौदी खण्डको लेदो हटाउनासाथ पृथ्वी राजमार्ग पूर्ण रूपमा सुचारु हुनेछ, जसले राजधानी काठमाडौँलाई देशका अन्य भागसँग पुनः सहज रूपमा जोड्नेछ।

सडक खुलाउने काम भइरहेकाले उक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र ट्राफिक नियमको पालना गर्न सुरक्षाकर्मीहरूले आग्रह गरेका छन्।