२ सय वर्षदेखिको विपत्तीको इतिहासले बनाएको डरको मनोविज्ञानः चीन-जापानमा ४ र अमेरिकामा १३ अंक जस्तै नेपालको लागि भदौ अशुभको महिना बनेको हो ?

Aug 31, 2026 10:24 AM Merolagani



कुनै अंक, गते वा महिना आफैंमा अशुभ हुन्छ ?

विज्ञानले त्यो कुरा मान्दैन ।

तर मानिसको सामूहिक विश्वासले कहिलेकाहीँ एउटा सामान्य अंकलाई यति शक्तिशाली प्रतिक बनाइदिन्छ कि त्यसको प्रभाव भवनको नक्सादेखि होटलको कोठा, अस्पतालको बेड, फोन नम्बर र व्यापारिक मूल्यसम्म पुग्छ।

अमेरिका तथा केही पश्चिमी समाजमा १३ लाई अशुभ मानिन्छ। जापानमा ४ र ९ लाई लिएर यस्तै धारणा पाइन्छ । चीनमा ४ को उच्चारण मृत्यु जनाउने शब्दसँग मिल्ने भएकाले कतिपय भवनमा ४, १४ वा २४ नम्बरका तला नदेखाउने चलन छ। तर ती देशका मानिसले अंकलाई साँच्चिकै दोष दिएका हुन् कि इतिहास, भाषा र संस्कृतिले त्यस अंकमाथि एउटा डरको अर्थ थपिदिएको हो ?

नेपालको पात्रोमा भदौ वर्षको एउटा सामान्य महिना हो। मनसुन अन्त्यतिर पुग्दै गरेको, धानबाली खेतमा लहलहाउँदै गरेको र दशैंतिहारको तयारी सुरु हुने समय। तर नेपालको इतिहास पल्टाउने हो भने भदौ त्यति सामान्य देखिँदैन।

कहिले भूकम्पले देश हल्लाएको छ, कहिले राजनीतिक आन्दोलनले सत्ता हल्लाएको छ, कहिले सामाजिक तनावले राज्यको संरचनामाथि प्रश्न उठाएको छ। र यसै वर्ष भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले हिमाली नेपालको विकास, पूर्वाधार र विपद् व्यवस्थापनको मोडलमाथि फेरि गम्भीर प्रश्न उठाएको छ। यस अर्थमा भदौलाई नेपालको इतिहासमा उथलपुथलको महिना भन्दा अतिशयोक्ति नहोला।

२ भदौ, कोशी नदीको वितण्डा, सयौंको मृत्यु, हजारौं बेघरबार

२०६५ भदौ २ गते कोशी नदीले पूर्वी तटबन्ध भत्कायो । सुनसरी जिल्लाको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा डुबानमा परे । तत्कालीन लौकही गाविस आंशिक रुपमा डुब्यो । त्यतिबेला सात हजार पाँच सय ६३ घरधुरीका ४२ हजार सात सय ६५ नागरिक विस्थापित भए । 

५ भदौ : उदयपुरको भूकम्प र पूर्वी नेपालको ठूलो क्षति

वि.सं. २०४५ भदौ ५ गते उदयपुर केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पले पूर्वी नेपाललाई ठूलो क्षति पुर्यायो। उक्त भूकम्पमा ७२१ जनाको मृत्यु र ६ हजार २१३ जना घाइते भएका थिए। हजारौँ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका थिए। धरानलगायत पूर्वी नेपालका बस्तीमा यसको ठूलो प्रभाव परेको थियो।

७ भदौ , २०७२ : टीकापुरको हिंसात्मक घटना

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाले नेपालको संघीयता, प्रदेश सीमांकन, पहिचान र राजनीतिक प्रतिनिधित्वसम्बन्धी बहसलाई गम्भीर मोडमा पुर्यायो। नयाँ संविधान लेखनको अन्तिम चरणमा सीमांकनको विरोध गर्दै भएको आन्दोलनमा वरिष्ठ प्रहरी उपरीक्षक (SP) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र १ जना नाबालकको नृशंस हत्या भयो ।

१० भदौ: विश्वकै सबैभन्दा डरलाग्दो महाविपत्ती मध्येको एक

गत भदौ १० गते बिहान अचानक आएको बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्योयो । सडक, पुल, व्यापारिक संरचना, जलविद्युत् आयोजना र अन्य पूर्वाधार प्रभावित भए।

प्रारम्भिक अध्ययनहरूले हिमाली क्षेत्रमा भएको ठूलो चट्टान तथा हिम–बरफको पतन र हिमतालसम्बन्धी घटनाले नदी प्रणालीमा असाधारण बाढी उत्पन्न गरेको हुन सक्ने देखाएका छन्। तर घटनाको ठ्याक्कै कारणबारे वैज्ञानिक अध्ययन जारी छ। सयौं मानिसहरुको मृत्यु भएको छ भने हजारौं मानिसहरु बेपत्ता भएका छन् । यो घटनामा भएको आर्थिक नोक्सानीको त कुनै हिसाब नै छैन । यो घटनालाई नेपालको इतिहासको मात्र होइन, विश्व इतिहासकै सबैभन्दा डरलाग्दो विपत्ती मध्येको एक मानिएको छ । 

१० भदौ , ७२ वर्ष अगाडिको महाप्रलय

बि.सं. २०११ भदौ १० गते नेपालका प्राय नदीनालाहरुमा बाढी आएको थियो । यो बाढी पनि पूर्वी नेपालको कोशी, मध्य नेपालको राप्ती, बागमती, त्रिशुली, नारायणी तथा पश्चिम नेपालका प्रमुख नदीहरुमा पनि आएको थियो । यसको साथै पोखराको फेवातालको हर्पन खोला, बेगनासको खुदी खोला तथा रूपातालको तालबेसी खोलामा पनि बाढी आएको थियो ।


अघिल्लो बाढीले ठूलो जनधनको क्षति नभए पनि पछिल्लो बाढीले भने ठूलो क्षति पुगेको थियो । देशभरमा एक हजार भन्दा बढीको मृत्यु भएको थियो । सो समय कास्कीको सौरेबजार नजिकै पैह्रो जाँदा लमजुङबाट आएका तथा लमजुङ जानका लागि बास बसेका १०० भन्दा बढी भरियाहरु एकै ठाउँमा चिहान परेका थिए भन्ने गरिन्छ । सो समय गोरखा जिल्लामा पनि पैह्रोका कारण सयौको मृत्यु भएको थियो भने कोशीमा आएको बाढीले ६०० भन्दा बढीको मृत्यु भएको थियो । यसको साथै मनहरी र लोथर नदीमा आएको बाढी तथा पैह्रोले धेरै गाउँका घरहरु लगेको थियो । यस बाढीको प्रभावले दोलखादेखि गोरखासम्मको भूधरातलमा परिवर्तन ल्याएको थियो । देशभरमा करिव ३,००० घर क्षतिग्रस्त भएको थियो भने २ करोड बराबरको धनमाल क्षति भएको थियो ।

१२ भदौ : १९३ वर्ष अगाडिको त्यो विनास 

नेपालको भूकम्पीय इतिहासमा वि.सं. १८९० भदौ १२ गते अत्यन्त महत्त्वपूर्ण दिन हो। त्यो दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो। काठमाडौंका पुराना संरचना क्षतिग्रस्त भए, धरहरासमेत प्रभावित भयो। भूकम्पपछि पनि परकम्पहरू आएका थिए र त्यसको असर लामो समयसम्म रह्यो।

करिब ७.६ देखि ७.९ म्याग्निच्युड अनुमान गरिएको उक्त भूकम्पले काठमाडौं उपत्यका, उत्तरी नेपाल, भारत र तिब्बतसम्म प्रभाव पारेको थियो। करिब ५०० मानिसको मृत्यु भएको अनुमान छ। हजारौं घर, मन्दिर तथा ऐतिहासिक संरचना भत्किएका थिए।

काठमाडौं उपत्यकामा मात्रै हजारौं संरचना क्षतिग्रस्त भएको र तत्कालीन धरहराको एउटा भागसमेत ढलेको ऐतिहासिक विवरण पाइन्छ। मुख्य भूकम्पअघि दुईवटा ठूला धक्का महसुस भएकाले धेरै मानिस घरबाहिर निस्किएका थिए। त्यसैले व्यापक भौतिक विनाशका तुलनामा मानवीय क्षति केही कम भएको मानिन्छ।

१२ र १३ भदौ  गते स्याङ्जाको त्यो बिनाशकारी पहिरो

वि.सं. २०५५ भदौ १२ र १३ गते मा अविरल वर्षाका कारण स्याङ्जा जिल्लामा गएको विनाशकारी पहिरोमा परी जम्मा ५० जना मानिसको मृत्यु भएको थियो । 

१६ भदौ  : नेपालको वैदेशिक रोजगारी इतिहासको ‘कालो दिन’

वि.सं. २०६१ भदौ १६ गते इराकमा १२ नेपालीको हत्या भएको खबर नेपालमा फैलियो। त्यसपछि देशभर हिंसात्मक प्रदर्शन र तोडफोड भयो। यो घटना केवल वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाको विषय थिएन। यसले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी र रेमिट्यान्सको बढ्दो निर्भरता तथा त्यससँग जोडिएको सामाजिक जोखिमलाई उजागर गर्यो । अर्थात् भदौले नेपाललाई कहिले प्राकृतिक विपत्तिबाट, कहिले आर्थिक र सामाजिक संरचनाको कमजोरीबाट झस्काउँदै आएको देखिन्छ।

२३–२४ भदौ  युवाको विद्रोह 

अघिल्लो वर्षको भदौ नेपालका लागि झन् असाधारण रह्यो। भदौ २३ र २४, २०८२ मा जेनजी नेतृत्वको आन्दोलनले देशको राजनीतिक संरचनालाई नै हल्लायो। आन्दोलनको पहिलो दिन ठूलो मानवीय क्षति भयो र त्यसपछि आन्दोलन देशव्यापी उथलपुथलमा परिणत भयो। बेरोजगारी, सुशासनको अभाव, भ्रष्टाचार र पुराना राजनीतिक दलहरूप्रतिको चरम असन्तुष्टिलाई लिएर युवा तथा विद्यार्थीहरू माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका थिए। प्रदर्शन उग्र बन्दै जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। अघिल्लो दिनको दमनको प्रतिक्रियास्वरूप भदौ २४ गते प्रदर्शन थप हिंसक बन्यो। काठमाडौँ उपत्यकाका विभिन्न सरकारी निकाय, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीका घटनाहरू भए। 

 भदौ २०७९: डेंगी महामारी, ५४ हजार संक्रमण र ६२ जनाको मृत्यु

वि.सं. २०७९ भदौमा डेंगी संक्रमण फैलियो । काठमाडौं उपत्यकासहित देशभरका अस्पताल संक्रमितले भरिए। परीक्षण किट, औषधि, बेड र रगतको माग ह्वात्तै बढ्यो। त्यस वर्ष नेपालमा करिब ५४ हजार डेंगी संक्रमण र ६२ जनाको मृत्यु भएको थियो ।




माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।