विगत दुई–तीन दिनदेखि सुरुङको अवरोध हटाएर र संरचना फोरेर गरिएको व्यापक खोजीका क्रममा भित्र कोही पनि फेला नपरेपछि उद्धार टोली काठमाडौँ फर्किएको छ।
बाढी आएको समयमा आयोजनामा कार्यरत कर्मचारी र मजदुरहरू ज्यान जोगाउन सुरुङभित्र पसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो। सोही आधारमा सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरू सहितको विशेष उद्धार टोली हेलिकप्टरमार्फत घटनास्थल पठाएको थियो।
सुरुङभित्र कोही भेटिएनन्
उद्धार टोलीले ठूला उपकरण र एक्साभेटरको प्रयोग गरी सुरुङका विभिन्न खण्डहरूमा खोजी कार्य गरेको थियो। तर, सुरुङभित्र कोही पनि फेला नपरेपछि आयोजनाले आधिकारिक रूपमा मजदुरहरू त्यहाँ नरहेको पुष्टि गरेको छ। सुरुङमा कोही नभेटिएपछि र तत्काल थप उद्धारको सम्भावना नरहेपछि टोली काठमाडौँ फर्किएको हो।
बेपत्ताहरूको चिन्ता बढ्यो
सुरुङभित्र मजदुर नभेटिएपछि बेपत्ता भएका भनिएकाहरूको अवस्था झन् चिन्ताजनक बनेको छ। आयोजनाका अनुसार सम्पर्कविहीन रहेका कर्मचारी र मजदुरहरू अहिले पनि सम्पर्कमा आएका छैनन्। सुरुङमा नभेटिएपछि उनीहरूलाई बाढीले बगाएको हुनसक्ने वा अन्य कुनै स्थानमा परेको हुनसक्ने आशङ्का गरिएको छ।
आयोजनामा ठूलो क्षति
भदौ १० गते तिब्बतबाट आएको भोटेकोशीको बाढीले रसुवागढी आयोजनाको बाँधस्थल, पावरहाउस र अन्य भौतिक संरचनामा गम्भीर क्षति पुर्याएको छ। सडक सञ्जाल र सञ्चार सम्पर्क समेत विच्छेद भएकाले बेपत्ताहरूको खोजी र क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको छ।
सुरुङभित्र मजदुरहरू सुरक्षित होलान् भन्ने आशामा रहेका परिवारजनहरू अहिले अन्योल र पीडामा छन्। प्रशासनले बेपत्ताहरूको खोजीका लागि अन्य सम्भावित क्षेत्रहरूमा निगरानी बढाइएको जनाए पनि भौगोलिक विकटता र बाढीको लेदोका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ।