कार्यक्रमका सदस्य सचिव खगेन्द्र शाहका अनुसार विपद्को अवस्थाका कारण आज निकाल्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको हो। तर नतिजा स्थगित भए पनि चिठ्ठाका लागि कुपन जेनेरेट हुने प्रक्रिया भने निरन्तर चल्नेछ। योग्य कारोबारका आधारमा कुपनहरू प्रणालीमा थपिँदै जाने र अहिलेको कार्यक्रमका कुपन सुरक्षित रहने शाहले बताए।
अब स्थगित भएको कार्यक्रम र त्यसपछिको अर्को कार्यक्रमको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ। ‘आज नतिजा निकाल्ने दिन थियो। अहिलेको कार्यक्रम स्थगित भएको छ। तर कुपन जेनेरेट हुँदै जान्छन्। त्यसपछि दुईवटै कार्यक्रमको नतिजा एकैपटक निकाल्छौँ,’ सदस्य सचिव शाहले भने। यस विषयमा आन्तरिक राजस्व विभागले औपचारिक सूचना जारी गर्ने तयारी गरेको छ। विभागबाट केही समयमै सूचना सार्वजनिक हुने शाहले जानकारी दिए।
सरकारले उपभोक्तालाई खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको हो। योग्य कारोबारका आधारमा सहभागी हुने उपभोक्तामध्ये चिठ्ठाबाट विजेता छनोट गरी नगद पुरस्कार प्रदान गर्ने व्यवस्था छ। यसअघि कार्यक्रमअन्तर्गत विभिन्न अवधिको चिठ्ठा खोलिसकिएको छ। अब स्थगित भएको अवधिका कुपनसमेत समेटेर अर्को चरणको नतिजासँगै विजेता घोषणा गरिने भएको हो।
अर्थात्, आजको चिठ्ठा स्थगित भए पनि यस अवधिमा योग्य बिल काट्ने उपभोक्ताको सहभागिता भने रद्द भएको छैन। उनीहरूका कुपन आगामी संयुक्त चिठ्ठामा समावेश हुनेछन्। नतिजा सार्वजनिक गर्ने नयाँ मिति, दुई कार्यक्रमको कुन–कुन अवधि समेटिने र चिठ्ठा खोल्ने प्रक्रियाबारे आन्तरिक राजस्व विभागले जारी गर्ने सूचनाले थप स्पष्ट पार्नेछ।