सडक विभागका अनुसार, पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर र परेवाभीरमा गएको पहिरो हटाएर सडकमार्गको ट्रयाक खुलाउने वा अन्य वैकल्पिक मार्गको खोजी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
सडक विभागका महानिर्देशक डा. बिजय जैशीले कृष्णभीरको पहिरो गएको ठाउँबाट नै कटिङ गरेर ट्रयाक खोल्ने विषयमा अध्ययन भइरहेको बताए । त्यसबाहेक अन्य सहायक सडकलाई फराकिलो बनाउने वा वैकल्पिक मार्गमार्फत आपूर्ति सहज गर्ने गरी पहल भइरहेको उनले बताए ।
कृष्णभीरको पहिरो भएको ठाउँबाट नै थप सडक कटिङ गराएर जाँदा दुई हप्ता लाग्ने उनले बताए । त्यसबाहेक कान्ति लोकपथ र त्रिभुवन राजमार्गबाट पनि अत्यावश्यक ग्यास र पेट्रोलको आपूर्ति गर्नका लागि विकल्प हेरिएको उनले बताए ।