बाढीका कारण जलविद्युत् क्षेत्रमा ८० अर्बभन्दा बढीको क्षति, झन्डै हजार व्यक्ति अझै सम्पर्कविहीन

Sep 02, 2026 05:35 PM Merolagani



हरिप्रसाद शर्मा

सरकारले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढीका कारण जलविद्युत् क्षेत्रमा मात्रै ८० अर्बभन्दा माथिको क्षति पुगेको प्रारम्भिक आकलन गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, बाढीले त्यस क्षेत्रमा निर्माण भइ सञ्चालनमा आएका र निर्माणधीन गरी एक दर्जन विद्युत् आयोजनामा क्षति पुर्याउँदा उक्त बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको हो ।

मन्त्रालयद्धारा क्षतिको विवरण संकलन गर्न गठित समितिका एक सदस्यका अनुसार, प्रसारण तथा वितरण प्रणालीबाहेक समग्र जलविद्युत् क्षेत्रमा ८० अर्बभन्दा बढीको क्षति भएको हो । बाढीले जलविद्युतसँगै सिँचाइ, सोलार र अन्य वैकल्पिक ऊर्जाका रुपमा प्रयोग भएका आयोजनामा उक्त क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

विद्युत् प्रसारण तथा वितरणतर्फ कति क्षति भयो भनेर क्षतिको विवरण संकलनको काम भइरहेको छ । अहिले नै क्षतिको यकिन विवरण नआएको मन्त्रालयले जनाएको छ ।

मानवीय क्षतिः झण्डै एक हजार सम्पर्कविहीन

आर्थिक क्षतिभन्दा पनि डरलाग्दो पक्ष मानवीय क्षति देखिएको छ। प्राप्त आधिकारिक विवरण अनुसार रसुवा र नुवाकोटका ११ वटा प्रमुख आयोजनामा गरी कुल ९८३ जना कर्मचारी र मजदुरहरू अझै सम्पर्कविहीन छन्। बाढीका कारण सञ्चालनमा रहेका ८ वटा (२८१ मेगावाट) र निर्माणाधीन ४ वटा (३८८ मेगावाट) गरी कुल १२ वटा आयोजना प्रभावित भएका छन्।

उद्धार र खोजीको पछिल्लो अवस्था

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीको दिन आयोजनामा १,४३३ जना कार्यरत थिए। जसमध्ये ८७६ जना सम्पर्कमा आए पनि ५५७ जना अझै बेपत्ता छन्। यहाँ चीन र अन्य देशका कामदारहरू समेत बेपत्ता रहेको बताइएको छ।

त्यस्तै, माथिल्लो त्रिशूली ३–ए को सुरुङभित्र फसेकाहरूको खोजीका लागि ४ वटा एक्साभेटर प्रयोग गरी ‘क्राउन ब्लास्’ गर्ने र भित्रको ‘डेबरेज’ (लेदो र ढुङ्गा) हटाउने काम भइरहेको छ। सुरुङमा पानी भरिएकाले उद्धार चुनौतीपूर्ण बनेको छ।

चिलिमे जलविद्युत: यहाँ नेपाली सेना र भारतीय उद्धार टोलीसहितको टोलीले विद्युत् गृहसम्म पुग्ने मार्ग सफा गरिरहेको छ। मेसिनरी उपकरण लैजान नसक्दा सुरुङभित्रको लेदो हटाउन ढिलाइ भइरहेको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको भित्री भागमा ड्रोनमार्फत खोजी गर्दा कोही नभेटिएपछि सेनाको टोली फर्किएको छ। यद्यपि, कम्पनीले आफ्नै तर्फबाट थप उपकरण खरिद गरी खोजीलाई तीव्रता दिने जनाएको छ।

चुनौती र अवरोध

वर्षाका कारण नदीमा पानीको सतह घटबढ भइरहनु, सुरुङभित्र बाक्लो लेदो र ढुङ्गा थुप्रिनु तथा सडक मार्ग अवरुद्ध हुनुले उद्धार कार्यमा बाधा पुर्‍याएको छ। मन्त्रालयले वितरण लाइनतर्फको क्षतिको विवरण संकलन गर्न अझै केही दिन लाग्ने बताएको छ।

बाढीले ऊर्जा क्षेत्रमा पुर्‍याएको यो क्षति इतिहासकै ठूलो मध्येको एक मानिएको छ। ठूलो संख्यामा प्राविधिक र मजदुरहरू बेपत्ता हुनुले ऊर्जा क्षेत्रमा दक्ष जनशक्तिको अभाव र सुरक्षा मापदण्डमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ।