प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसले ऊर्जा क्षेत्रमा पुर्याएको क्षतिका विषयमा गम्भीर छलफल भएको छ।
बिहान ११ बजेदेखि सुरु भएको भेटवार्तामा विशेष गरी भदौ १० गतेको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका कर्मचारी तथा मजदुरहरूको उद्धारमा भइरहेको ढिलाइ र राहत कार्यका विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका घिसिङले प्रधानमन्त्री शाहसँग भेटका लागि समय मागेका थिए। घिसिङले बाढीका कारण क्षतिग्रस्त एक दर्जनभन्दा बढी आयोजनाको अवस्था र त्यहाँ अलपत्र परेका जनशक्तिको वास्तविकताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
बाढी गएको ९ दिन बितिसक्दा पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन नसक्नु दुखद भएको भन्दै घिसिङले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। भेटमा प्रधानमन्त्री शाहले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र आवश्यक स्रोत-साधन परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने आश्वासन दिएका छन्।