खासगरी बाढी र पहिरोका कारण रसुवागढी र तातोपानी बन्द भएपछि मुस्ताङको कोरला नाकामा व्यापारिक चाप ह्वात्तै बढेको हो ।
भदौ १० गतेको बाढीले रसुवागढी भन्सार ध्वस्त पारेको र पहिरोको जोखिमले तातोपानी नाका पनि बन्द भएपछि व्यवसायीहरूले विकल्पमा कोरला नाका प्रयोग गर्न थालेका हुन्।
आगामी दशैँ र तिहारलाई लक्षित गरी सामान ल्याउन अहिले दैनिक औसत ५० भन्दा बढी रित्ता कन्टेनरहरू मुस्ताङ भइ कोरलातर्फ गइरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार रसुवागढी नाका ठप्प भएपछि व्यवसायीहरूको आकर्षण यतातर्फ बढेको हो।
कामको चाप बढेपछि भन्सार विभागले ३ अधिकृत र ३ नायब सुब्बा गरी ६ जना थप कर्मचारी काजमा खटाएको छ। यस्तै, फलफूल तथा खाद्यान्नको जाँचपासका लागि प्लान्ट क्वारेन्टाइनका कर्मचारीहरू पनि मुस्ताङ पुगिसकेका छन्। हाल १८ जनाको दरबन्दी रहेको मुस्ताङ भन्सारमा अब कर्मचारीको संख्या १८ पुगेको छ।
गत आर्थिक वर्षमा करिब ७ अर्ब राजस्व संकलन गरेको कोरला नाकाबाट ३ हजारभन्दा बढी विद्युतीय सवारी साधन(इभी) भित्रिएका थिए। चालू आर्थिक वर्षको साउन महिनामा मात्रै यस नाकाबाट २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। २०८२ भदौदेखि वैकल्पिक नाकाका रूपमा सञ्चालनमा आएको कोरला अहिले चीनसँगको व्यापारका लागि मुलुकको प्रमुख लाइफलाइन बनेको छ।