कृष्णभीरमा प्राविधिक चुनौतीः नयाँ ट्र्याकमै चिरा परेपछि विज्ञको परामर्श खोजिँदै

Sep 07, 2026 03:45 PM Merolagani



बाढी र पहिरोका कारण क्षतविक्षत बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा निर्माण भइरहेको नयाँ ट्र्याकमा प्राविधिक चुनौती थपिएको छ। 

सडक विभागका अनुसार नयाँ खोलिएको ट्र्याकमा सोचेभन्दा बढी चिरा (क्र्याक) देखा परेको हो ।

भदौ १० गतेको विपद्पछि अवरुद्ध भएको यो रणनीतिक सडकखण्डलाई वैकल्पिक ट्र्याक खोलेर सुचारु गराउन विभागले युद्धस्तरमा काम गरिरहेको छ। तर, जमिनको अस्थिरताका कारण नयाँ ट्र्याकमा देखिएका यी चिराहरूले प्राविधिक टोलीलाई झस्काएको छ।

विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा नयाँ ट्रयाकमा बढी चिरा देखिएपछि तत्काल मर्मत र विज्ञको परामर्श लिने बताएका छन् ।

महानिर्देशक जैसीका अनुसार सडकमा देखिएका चिराहरूलाई तत्काल सिल गर्ने काम सुरु भइसकेको छ ताकि पानी पसेर थप क्षति नहोस्। ‘हामीले सोचेभन्दा बढी चिराहरू देखिएका छन्, जुन चिन्ताको विषय हो,’ उनले भने, ‘यसको गम्भीरतालाई ध्यानमा राख्दै विज्ञहरूको परामर्शमा थप प्राविधिक विश्लेषण र माटोको परीक्षण भइरहेको छ।’

विज्ञ टोलीले ती चिराहरू सतहका मात्र हुन् कि गहिराइसम्मै पुगेका हुन् भन्नेबारे अध्ययन गरिरहेको छ। यसले सडकको दीर्घकालीन भारवहन क्षमता र सुरक्षाको सुनिश्चितता गर्नेछ।

रातभर काम गरेर सडक खुलाउने प्रयास

राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा राजधानी काठमाडौँमा खाद्यान्न, इन्धन र ग्यासको आपूर्तिमा गम्भीर असर परेकाले विभागले कामको गतिलाई कम हुन दिएको छैन। महानिर्देशक जैसीले सडक चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन रातिको समयमा समेत फ्लड लाइटप्रयोग गरेर कामलाई तीव्रता दिइएको बताए ।

‘हामी २४सै घण्टा काममा खटिएका छौँ। प्रतिकूल भौगोलिक अवस्था र प्राविधिक अवरोधका बाबजुद पनि यातायात सुचारु गराउनु हाम्रो पहिलो प्राथमिकता हो,’ उनले बताए ।

आपूर्तिमा सास्ती कायमै

कृष्णभीरको यो अवरोधले गर्दा सयौँ मालवाहक गाडीहरू बीच बाटोमै अलपत्र परेका छन्। सरकारले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरे पनि ठूला सवारीका लागि ती मार्गहरू पर्याप्त नभएकाले कृष्णभीर खण्ड नै सुचारु हुनु अनिवार्य छ।

सडक विभागले प्राविधिक विश्लेषण सकिए लगत्तै र चिराहरूको उचित व्यवस्थापन भएपछि मात्र ठूला सवारी साधनलाई अनुमति दिने तयारी गरेको छ। अहिलेको अवस्थामा थप पहिरो नखसेमा र मौसमले साथ दिएमा छिट्टै एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने लक्ष्य विभागको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।