नेप्सेका अनुसार सात कम्पनीमा बाढीको प्रत्यक्ष असर, तर समग्र बजारलाई लाग्यो ठूलो धक्का

Sep 07, 2026 06:22 PM Merolagani



सुवास निरौला 

रसुवामा आएको विनाशकारी बाढीले प्रत्यक्ष रूपमा केही जलविद्युत् आयोजनालाई क्षति पुर्‍याए पनि त्यसको असर सम्बन्धित कम्पनीको शेयरमा मात्र सीमित रहेन। 

बाढीपछि लगानीकर्तामा बढेको अनिश्चितता र जोखिमको मनोविज्ञानले समग्र शेयर बजार तथा विभिन्न उपसूचकलाई समेत दबाबमा पारेको छ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले उपलब्ध गराएको तथ्यांकअनुसार बाढीबाट प्रत्यक्ष प्रभावित सात जलविद्युत् कम्पनीले आयोजनामा क्षति पुगेको भनेर नेप्सेलाई जानकारी गराएका छन्। क्षति पुगेका सात कम्पनीहरुको शेयर मूल्य बाढी आए यता ७ सेप्टेम्बरसम्म औसतमा करिब २०.९१ प्रतिशतले घटेको छ। सबैभन्दा ठूलो गिरावट मैलुङ खोला जलविद्युत् कम्पनीको ३०.१६ प्रतिशत रहेको छ। त्यसपछि रसुवागढी हाइड्रोपावर २९.४९ प्रतिशत, त्रिशूली जलविद्युत् २९.२० प्रतिशत र चिलिमे हाइड्रोपावर २२.२९ प्रतिशत घटेका छन्। त्यस्तै माथिल्लो मैलुङ खोला जलविद्युत् १६.२३ प्रतिशत, सान्जेन जलविद्युत् १०.९५ प्रतिशत र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक ८.०८ प्रतिशत घटेका छन्।

यसले बाढीको प्रत्यक्ष भौतिक क्षति निश्चित कम्पनीमा केन्द्रित भए पनि लगानीकर्ताको धारणा भने त्यसको दायराभन्दा निकै फराकिलो बनेको देखाउँछ। बाढीबाट आयोजनाको उत्पादन कहिले फर्किन्छ, पुनर्निर्माणमा कति खर्च लाग्छ, बीमा दाबी कति आउँछ र कम्पनीको आम्दानीमा कस्तो असर पर्छ भन्ने प्रश्नको स्पष्ट उत्तर नआउँदा लगानीकर्ताले जोखिमलाई शेयर मूल्यमा अग्रिम रूपमा समायोजन गरिरहेका छन्। पछिल्लो बजार विश्लेषणले पनि प्रत्यक्ष क्षति केही आयोजनामा सीमित भए पनि अनिश्चितताका कारण जलविद्युत् क्षेत्रभर दबाब देखिएको उल्लेख गरेको छ।

सात कम्पनीमा क्षति, तर धक्का समग्र बजारमा

बाढीको प्रभाव जलविद्युत् कम्पनीमा सबैभन्दा तीव्र देखिए पनि २५ अगस्टदेखि ७ सेप्टेम्बरसम्म समग्र नेप्से सूचक २,५९४.२७ बाट घटेर २,५६०.८४ विन्दुमा आएको छ। यो १.२८ प्रतिशतको गिरावट हो।

उपसूचकगत रूपमा हेर्दा सबैभन्दा ठूलो दबाब नन–लाइफ इन्स्योरेन्समा परेको छ। उक्त सूचक ८.२६ प्रतिशत घटेको छ। जलविद्युत् सूचक ४.११ प्रतिशत, ‘अन्य’ समूह ४.३१ प्रतिशत, म्युचुअल फन्ड ३.६२ प्रतिशत, जीवन बीमा २.२२ प्रतिशत, वित्त १.४८ प्रतिशत, होटल तथा पर्यटन १.०७ प्रतिशत र माइक्रोफाइनान्स ०.५५ प्रतिशत घटेका छन्। विकास बैंकमा पनि ०.३३ प्रतिशतको सामान्य गिरावट आएको छ।

अर्कोतर्फ, केही क्षेत्रमा भने बजारले सकारात्मक प्रदर्शन गरेको छ। म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सूचक ३.२५ प्रतिशत, बैंकिङ ०.६९ प्रतिशत, ट्रेडिङ ०.६४ प्रतिशत र लगानी समूह ०.०१ प्रतिशत बढेका छन्।

क्षतिको खबरभन्दा ‘के होला?’ भन्ने डर ठूलो

शेयर बजारमा बाढीको प्रभाव बुझ्न कम्पनीमा भएको वास्तविक क्षतिभन्दा लगानीकर्ताको मनोविज्ञान महत्वपूर्ण देखिएको छ। प्रारम्भिक सूचनासँगै प्रभावित कम्पनीको शेयरमा बिक्री चाप बढ्नु स्वाभाविक भए पनि क्षति प्रत्यक्ष नभएका जलविद्युत् कम्पनीसमेत दबाबमा आउनुले बजारमा ‘फ्लड रिस्क’ कसरी फैलिएको छ भन्ने देखाउँछ।

लगानीकर्ताले अहिले एउटै घटनालाई तीन तहमा मूल्यांकन गरिरहेका छन । अायाेजना पुनः सञ्चालन हुन लाग्ने समय,बीमाबाट प्राप्त हुने रकम र पुनर्निर्माणको वास्तविक लागत। यी विषयमा स्पष्टता नहुँदा जोखिमप्रति संवेदनशील लगानीकर्ताले पहिले बिक्री गर्ने र पछि तथ्यांक आएपछि निर्णय गर्ने रणनीति अपनाएका देखिन्छन्।

विशेषगरी जलविद्युत् कम्पनीको शेयरमा विगतदेखि नै खुद्रा लगानीकर्ताको ठूलो सहभागिता रहेकाले कुनै एउटा आयोजनामा आएको प्राकृतिक विपत्तिको खबरले ‘एक कम्पनीको जोखिम’ बाट ‘समग्र हाइड्रो क्षेत्रको जोखिम’ भन्ने मनोवैज्ञानिक प्रभाव सिर्जना गरेको छ। बाढीपछि जलविद्युत् र बीमा कम्पनीका शेयरमा देखिएको दबाबबारे हालैको बजार विश्लेषणले पनि भौतिक क्षति केही आयोजनामा केन्द्रित भए पनि क्षतिको आकार, बीमा दाबी र पुनर्निर्माणबारे अनिश्चितताले लगानीकर्तालाई सतर्क बनाएको  छ।

बीमा क्षेत्रमा परेको दबाबले जोखिमको अर्को पाटो देखायो

बाढीले जलविद्युत् आयोजनाको भौतिक संरचनामा क्षति पुर्‍याउँदा त्यसको वित्तीय असर बीमा कम्पनीसम्म पुग्ने भएकाले नन–लाइफ इन्स्योरेन्स सूचक ८.२६ प्रतिशत खस्किनु पनि बजार मनोविज्ञानको महत्वपूर्ण संकेत हो। अर्थात् लगानीकर्ताको चिन्ता केवल ‘हाइड्रो कम्पनीको उत्पादन बन्द भयो कि भएन’ भन्नेमा सीमित छैन। बीमा दाबी बढ्ने, पुनर्बीमा दायित्व सिर्जना हुने र कम्पनीको नाफामा कस्तो असर पर्छ भन्ने आशंकाले बीमा क्षेत्रमा समेत बिक्री चाप बढाएको देखिन्छ। हालैका रिपोर्टअनुसार बाढीबाट हुने व्यावसायिक बीमा क्षति ठूलो हुन सक्ने प्रारम्भिक अनुमानसमेत सार्वजनिक भएका छन्।

बजारलाई बाढीको पानीले होइन, अनिश्चितताले बढी हल्लायो

यसपटकको बजार प्रतिक्रियाले एउटा महत्वपूर्ण कुरा देखाएको छ,बाढीले प्रत्यक्ष रूपमा सात कम्पनीलाई बढी प्रभावित गरे पनि त्यसको मनोवैज्ञानिक धक्का भने पूरै बजारले महसुस गरेको छ। २५ अगस्टको तुलनामा ७ सेप्टेम्बरसम्म सात प्रभावित कम्पनीमध्ये कुनै पनि कम्पनीको शेयर बढ्न सकेको छैन। तर समग्र नेप्सेको गिरावट भने १.२८ प्रतिशतमा सीमित छ। यसले बजारले घटनालाई गम्भीर रूपमा लिए पनि समग्र बजारको आधारभूत संरचना नै संकटमा परेको निष्कर्षमा भने अझै पुगेको छैन भन्ने संकेत गर्छ।

अब बजारको अर्को दिशा क्षतिको वास्तविक विवरण, आयोजना पुनः सञ्चालनको समय, बीमा दाबी र पुनर्निर्माण लागतले निर्धारण गर्नेछ। यी विषयमा स्पष्टता आउँदै गएमा अहिलेको डर क्रमशः घट्न सक्छ; तर क्षति अनुमानभन्दा ठूलो देखिएमा प्रभावित कम्पनीको शेयरमा दबाब अझै लम्बिन सक्ने जोखिम छ।

सारमा, रसुवाको बाढीले सात जलविद्युत् कम्पनीको भौतिक संरचनामा धक्का दिएको छ। तर शेयर बजारमा त्यसको पहिलो र ठूलो असर लगानीकर्ताको मनोविज्ञानमा परेको छ। प्रत्यक्ष क्षति सीमित भए पनि ‘अब के हुन्छ?’ भन्ने अनिश्चितताले जलविद्युत्, बीमा हुँदै समग्र बजारलाई नै सावधानीको मोडमा पुर्‍याएको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।