जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरुको बलिदान खेर जान नदिने बताए । उनले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने बताए। पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भएपनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उनको भनाई छ । १ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा प्रत्येकको कठालो समातेर कारबाही गर्ने उनको दाबी छ । उनले शहीदका परिवार, घाइते तथा आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह पनि गरे । उनले जेनजी शहीदका कारण देशमा नयाँ सुशासनको आधार बनेको दाबी गरे।
उनले भने, ‘आमा तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्यो, म एक्लो परेँ । होइन आमा, तिम्रो छोरो मरेको होइन । तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ । तिम्रो छोरो मर्यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ । तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरु उम्रिएको हो । तिम्रो गर्भमा, तिम्रो गर्भमा सपूतले बास गरेको रहेछ, कपूतले बास गरेको होइन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । शहीद, सन्त र सिपाही सबैको गर्भमा जन्मिदैनन् । तिम्रो गर्भले यो देशलाई एउटा न्याय दिने छोरो जन्माएको छ । तिम्रो गर्भबाट यो देशलाई एउटा उज्यालो किरण छर्ने छोरो जन्मेको छ । स्याबास् आमा ! धन्यवाद आमा जसले शहीद जन्माउनु भयो । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो । तिम्रो छोरो ढलेको कारण यो देशले सिटामोलको गोली खान पाएको हो । कतै कतै कसैले खिन्न मन गर्नु पर्दैन, कतै कसैले कमजोर मन गर्नु पर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा एउटा सरकार बनेको छ । अहिले बजारमा कतै कतै हल्ला चलाएका छन्, यसले माग सम्बोधन गर्छ कि गर्दैन ? जिम्मा लिन्छ कि लिदैन ? गर्छ यो सरकारले माग सम्बोधन, यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ, प्रत्येक आमाहरुको जिम्मा लिन हामी तयार भएर आएका छौं । बजारमा हुइँया मच्चाएका छन्, आलाकाँचा केटाहरु आएका छन्, संसदलाई कतै गलत बाटोमा लिन्छन् कि, सरकारलाई कतै गलत बाटोमा लिन्छन् कि, हामी आला हौंला, काँचा हौंला, तर कुहिएका छैनौं आमा ! ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदैछ । यो सरकार, यो सरकार प्रष्टको सरकार हो, भ्रष्टको सरकार होइन । सुशासन कायम गर्न र भ्रष्टाचारको विरुद्धमा लड्न कहाँबाट कतिबेला कसरी लड्नुपर्छ ? चाहे पूर्व हुन्, चाहे बहालवाला हुन्, चाहे हिजोका हुन्, चाहे आजका हुन्, जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ । सबै ठाउँमा हुनेछ, हिसाव हुनेछ, एक एक गनेर हिसाव हुनेछ, खनखनी गनेर हिसाब हुनेछ ।’
सरकारको नेतृत्व र नयाँ राजनीतिक शक्तिमाथि उठिरहेका प्रश्न उठेको बताउँदै उनले आफूहरू अनुभवका हिसावले नयाँ भएपनि भ्रष्ट नभएको दाबी गरे। उनले जेनजी आन्दोलनका सहभागी र शहीद परिवारलाई निराश नहुन पनि आग्रह गरे ।