नेपालमा शरद ऋतु अर्थात् असोज र कात्तिक महिनालाई पर्यटनका लागि सबैभन्दा उपयुक्त पिक सिजन मानिन्छ। मनसुन सकिएर मौसम खुल्ने र हिमालहरू प्रस्ट देखिने भएकाले विश्वभरका पर्यटकहरू यही समयमा नेपाल भ्रमणका लागि आउने गर्छन्। तर, लगातार दोस्रो वर्ष पर्यटकीय सिजनको ठ्याक्कै सुरुआतमै आइपरेका प्रतिकूल घटनाहरूले यो क्षेत्रलाई पुनः गम्भीर संकटको मोडमा पुर्याइदिएको छ।
गएको वर्ष भदाैमै युवा पुस्ताको ‘जेनजी’ आन्दोलन र राजनीतिक अशान्तिका कारण पर्यटन व्यवसाय नराम्ररी प्रभावित बनेको थियो। गत वर्षको उक्त आर्थिक क्षति यसपालिको मुख्य सिजनमा असुल गर्ने आशामा बसेका पर्यटन व्यवसायीहरूका लागि यस पटक भने प्रकृति बाधक बनेर आइपुगेको छ। भदौ १० गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले रसुवा क्षेत्रको सडक सञ्जाल छिन्नभिन्न पार्नुका साथै पृथ्वी राजमार्गको कृष्णभीर लगायतका मुख्य नाकाहरूमा आवागमन पूर्ण रूपमा सास्तीपूर्ण बनाएको छ।
सडकमार्ग सहज नहुँदा र वैकल्पिक बाटो अत्यन्तै जोखिमपूर्ण एवम् घुमाउरो हुँदा पर्यटक तथा सर्वसाधारणको सम्पूर्ण चाप हवाई मार्गतिर मोडिएको छ। काठमाडौँबाट पोखरा, चितवन, भरतपुर तथा अन्य गन्तव्यतर्फ जाने र फर्किने आन्तरिक उडानहरूमा यात्रुको चाप अत्यधिक छ। हवाई मार्गमा चाप बढेसँगै सुलभ दरका टिकट पाउन मुस्किल परेको छ भने उच्च भाडादरका कारण बजेट पर्यटकहरू थप समस्यामा परेका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डेका अनुसार बाढी-पहिरो र सडक अवरोधका खबर सार्वजनिक भएसँगै विदेशी पर्यटकहरूबाट हुने पूर्व बुकिङ रद्द हुने क्रम तीव्र बनेको छ। बाढी र पहिरोपछि सिर्जित परिस्थितिका कारण हालसम्म समग्र पर्यटन क्षेत्रमा करिब १५ प्रतिशतसम्म बुकिङ रद्द भइसकेको पाण्डेले जानकारी दिए। देशका सीमित क्षेत्रमा मात्र क्षति पुगेको भए पनि अन्तर्राष्ट्रिय जगतमा सिङ्गो देश नै प्रभावित भएको भान पर्ने गरी नकारात्मक सन्देश प्रवाह भएकाले पर्यटकहरूले धमाधम भ्रमण रद्द गरिरहेको उनी बताउँछन्। गत वर्ष राजनीतिक आन्दोलनले असर पारेकोमा यसपालि प्राकृतिक विपत्तिले उही नियति दोहोर्याएको पाण्डेको भनाइ छ।
हवाई उडानको महँगो भाडा तिर्न नसक्ने वा टिकट नपाउने पर्यटकहरू जोखिमपूर्ण सडकको चरम सास्ती खेप्न बाध्य छन्। टुर गाइड सुरेन्द्र डंगाेल अनुसार मुख्य नाका बन्द भएपछि पोखराबाट काठमाडौँ आउने पर्यटकीय गाडीहरू नारायणगढ, हेटौँडा, भैँसे, भीमफेदी, कुलेखानी र दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गरिरहेका छन्।
भैँसे-भीमफेदीको साँगुरो र जोखिमपूर्ण वैकल्पिक मार्ग प्रयोग गर्दा पोखराबाट बिहान सात बजे पर्यटक बोकेर हिँडेको गाडी भोलिपल्ट बिहान ४ बजे मात्र काठमाडौँ आइपुगेको डंगाेलले बताए। सडकमा २१ घण्टाभन्दा लामो र थकानपूर्ण यात्रा गर्नुपर्ने बाध्यता र हवाई सेवामा परेको चापले विदेशी पर्यटकमाझ नेपालको यात्राबारे नकारात्मक सन्देश जाने खतरा बढेको छ।
रसुवा र लाङटाङ जस्ता प्रख्यात पदयात्रा क्षेत्र जाने मुख्य ढोका बन्द हुँदा र देशभरका राजमार्गहरू जोखिमपूर्ण बन्दा होटल, टुर-ट्रेकिङ एजेन्सी, यातायात व्यवसायी, टुर गाइड, पोर्टर र स्थानीय होमस्टे सञ्चालकहरूको रोजीरोटी संकटमा परेको छ। असोज-कात्तिक जस्तो कमाउने मुख्य समयमै लगातार दुई वर्ष धक्का लाग्दा साना तथा ठूला पर्यटन व्यवसायीहरू थप ऋणको मारमा पर्न थालेका छन्।
पर्यटन उद्योगलाई यो संकटबाट जोगाउनका लागि सरकारले बाढी र पहिरोले अवरुद्ध बनाएका प्रमुख सडक मार्गहरूलाई द्रुत गतिमा सञ्चालनमा ल्याउनु प्राथमिक आवश्यकता देखिएको छ। साथै, प्रभावित निश्चित क्षेत्रबाहेक पोखरा, अन्नपूर्ण, सगरमाथा, चितवन, लुम्बिनी लगायतका अन्य धेरै गन्तव्यहरू सुरक्षित र सहज रहेको सही सूचना कूटनीतिक नियोगहरू र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रवाह नगरे यस पटकको पर्यटकीय यामबाट देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित छ।