उद्योगीलाई 'पाता नकसे'सम्म ग्यास सहज नहुने उद्योगमन्त्री यादवको भनाइ पछि उद्योगीहरु उत्तेजित, मन्त्रीले माफी माग्नु पर्ने , एशोसियसनको आकस्मिक वैठक

Sep 09, 2026 04:01 PM Merolagani



ग्यास अभाव हुनुको सम्पूर्ण दोष उद्योगीहरुमाथि थोपर्दै उद्योगमन्त्री गौरी यादवले ‘ग्यास उद्योगीहरुलाई पाता कस्नुपर्छ’ भनि दिएको अभिव्यक्तिप्रति नेपाल एलपी ग्यास एशोसियसनले कडा आपत्ति जनाएको छ । 

एशोसियसनले मन्त्री यादवलाई ‘हिम्मत भए आरोप प्रमाणित गरेर पाता कस्न,अन्यथा उद्योगीहरुसँग माफी माग्न’ चेतावनी दिएको छ । ‘मन्त्रीले हामी माथि निकै ठूलो आरोप लगाउनु भयो । यो हामीले सहेर बस्ने कुरै हुँदैन । हामी चुप बस्दैनौ, या त मन्त्रीले आरोप प्रमाणित गरेर हामी माथि कारवाही गर्नु पर्यो, होइन भने उहाँले माफी माग्नु पर्यो । यो विषय वारपार नभई सेलाउँदैन’ एशोसियसनका निवर्तमान अध्यक्ष शिव प्रसाद घिमिरेले मेरो लगानीसंग भने ।


घिमिरेका अनुसार आज सांझ एशोसियसनको वैठक बसेर मन्त्रीको भनाईको विरुद्ध कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्नेछ । मन्त्रीले अति नै गम्भीर आरोप लगाएकोले एशोसियसनले पनि त्यही अनुसार गम्भीर र सशक्तरुपमा प्रतिकार गर्ने उनको भनाई छ ।


के भनेकी थिइन मन्त्री यादवले ?

आज प्रतिनिधि सभाको उद्योग समितिको वैठकमा मन्त्री यादवले हाल ग्यासको अभाव हुनुमा उद्योगीहरु दोषी रहेको दावी गरेकी थिइन । उनले आफूले सक्दो पहल गर्दा पनि उद्योगीहरुले नटेरेको भन्दै उनीहरुलाई पाता कसेर कारवाही गरेपछि बल्ल अहिलेको समस्या समाधान हुने उनको भनाइ थियो । नेपालमा ग्यास उद्योगको संख्या धेरै रहेको बढीमा २ वटा उद्योग मात्रै पुग्ने बताउँदै मन्त्री यादवले भनेकी थिइन:

मैले पनि हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनुस् । सबै उद्योगीहरूलाई बसाएर भनेको छु । तर हात जोडेर नहुँदोरहेछ भनेर बुझियो ।

सबै समितिबाट उद्योगीहरूलाई निकाल्नुपर्छ । यहाँ आफ्नै हिसाबले, सरकारको हिसाबले, जो देशहितमा छ, राष्ट्रहितमा छ त्यसरी कानुन बनाउनुपर्छ भन्दाखेरी के भन्छ ‘हजुर मैले सकिनँ, योभन्दा बढी म गरेर ल्याउन सक्दिनँ’ भनेर सिधै जवाफ फर्काउँछ । सबैको अगाडि भनिरा’छु । यहीँ हुनुहुन्छ, कोही मान्दैन ।

५८ वटा हाम्रो देशमा चाहिएको होइन नि १ ठूलो-ठूलो कन्ट्रीमा तीन वटाभन्दा बढी छैन ग्यास उद्योग, यहाँ किन ५८ वटा छ ?  किनभने करोडौँ लिएर उनीहरूलाई लाइसेन्स दिएको छ । उद्योगीहरू पनि त्यो करोडौँ त उठाउनुपर्यो  नि ? उनीहरू उठाइरहेको छ ।

मैले धेरै अगाडिसम्म गएर बोलेँ, किनभने म यो देशलाई हाँसेको हेर्न चाहन्छु । यसले मलाई धेरै प्रभाव पनि पार्छ, मलाई थाहा छ। मलाई एकदमै नराम्रो बनाउला, आज म यो विषयमा यति अगाडिसम्म बढेर बोल्दा । तर देशको लागि गर्ने हो भने यो हामीले बुझ्नैपर्ने कुरा हो । पार्टीको कुरा होइन, देशको कुरा हो । जब देशको कुरा आउँछ नि, त्यो पार्टीभन्दा अगाडि बढेर गर्नैपर्छ । अब जे भन्नुहुन्छ म त्यही गर्छु, तर त्यो उद्योगीहरूलाई पाता नफर्काएसम्म यो ग्यास सहज हुँदैन भनेर मेरो अन्तिम विश्लेषण यही हो ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।