बजारमा ग्यास अभावको समस्याको समाधानका लागि सरकारमाथि दबाब बढाउन अखिल (क्रान्तीकारी)मा आबद्ध विद्यार्थीहरुले क्याम्पस गेटमा दाउराको चुल्होमा खाना पकाएर खाएका हुन् । विद्यार्थी नेता निरज श्रेष्ठले सरकारले ग्यास आपूर्तिको लागि पहल नगरेको कारण दुई हप्तादेखि घरमा खाना पकाउननसकेको बताए । उनले सरकारले ग्यास नभए खानाको व्यवस्था गर्नुपर्ने माग राखे । उनले सरकार नागरिक र व्यापारी दुवैसँग दमनकारी व्यवहार गरिरहेको आरोप पनि लगाए । उनले व्यापारीहरुसँग प्रभावकारी सनमन्वय गरेर सरकारले नागरिकलाई ग्यास वितरण गर्नुपर्नेमा जोड दिए । उनले बजजारमा भइरहेको कालोबजारी रोक्नुपर्नेमा समेत जोड दिए ।
उनले भने, ‘घरमा खान नखाएको धेरै दिन भैसक्यो । आज यहाँ कलेज बाहिर खाना खान पाइरहेका छौँ । बाहिर ग्यास नपाएपछि हिजो सिंहदरबार गएका थियौँ । ग्यास दिएनन्, प्रहरीले लाठी चार्ज दिए, घाइते बनाएका छन् । सरकारलाई लाठी हान्ने काम नगरी कि त खानाको व्यवस्था गर नभए ग्यास सिलिन्डरको व्यवस्था गर भन्न चाहान्छु । ग्यास कतै पाइएको छैन । सरकार दमनकारी बनेर अघि बढिरहेको छ । व्यापारीसँग समन्वय र सहजीकरण गर्नुपर्ने ठाउँमा उनीहरुलाई पनि डर र धम्कीको भाषा बोलिरहेको छ । सरकारले अनुगमन गरेर कालोबजारी गरिरहेको छ भने त्यस्ता व्यापारीलाई कानूनी कारबाही गर्नुपर्छ । ग्यासको सहज उपलब्धताको माग गर्दै अखिल क्रान्तीकारीले आज देशभरका क्याम्पसहरुमा शान्तीपूर्ण ढंगले आन्दोलनका कार्यक्रम गरिरहेका छौँ ।’
रसुवाको भोटेकोशीमा आएको बाढीपछि आपूर्ती प्रणाली प्रभावित भएको कारण काठमाडौं उपत्यकामा ग्यास अभाव भएको हो ।