विकास आयोजनाको विवाद ९० दिनमै टुंग्याउन ‘पूर्वाधार न्यायाधिकरण’ प्रस्ताव, मुद्दा परेकै भरमा काम रोक्न नपाइने

Sep 10, 2026 05:08 PM Merolagani



ठेक्कापट्टा, जग्गा प्राप्ति, मुआब्जा र अन्तरिम आदेशका कारण वर्षौँसम्म विकास आयोजना अलपत्र पर्ने समस्या समाधान गर्न सरकारले छुट्टै ‘पूर्वाधार न्यायाधिकरण’ गठन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को मस्यौदा तयार गरी राय–सुझावका लागि सार्वजनिक गरेको छ। विधायन ऐन, २०८१ को दफा ६ (२) बमोजिम मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक गर्दै ७ दिनभित्र अनलाइन सुझाव पोर्टल (lawfeedback.molipa.gov.np) वा इमेल (lawdrafting@molipa.gov.np) मार्फत राय उपलब्ध गराउन सर्वसाधारणलाई आह्वान गरेको छ।

किन आवश्यक पर्‍यो पूर्वाधार न्यायाधिकरण ?

विधेयकको औचित्य प्रस्ट्याउँदै मन्त्रालयले अदालतहरूमा मुद्दा परेपछि अन्तिम किनारा लाग्न वर्षौँ लाग्ने, एकतर्फी अन्तरिम आदेशले सयौँ आयोजना ठप्प हुने र यसले समय तथा लागत अत्यधिक बढेर (Time & Cost Overrun) राज्यलाई ठूलो नोक्सानी भइरहेको उल्लेख गरेको छ। विकास आयोजनालाई कानुनी प्रक्रियामा अल्झिन नदिई विषयगत विज्ञहरूको संलग्नतामा छिटो, छरितो र प्रभावकारी न्याय निरूपण गर्न यो विशेष न्यायाधिकरण गठन गर्न लागिएको हो।

 सदस्यीय विज्ञ इजलास : उच्च अदालतका न्यायाधीशको नेतृत्व

प्रस्तावित विधेयकअनुसार न्यायाधिकरणमा ३ सदस्यीय इजलास रहनेछ:
१. अध्यक्ष : न्याय परिषद्को परामर्शमा उच्च अदालतका बहालवाला न्यायाधीशहरूमध्येबाट नेपाल सरकारले तोकेको एक जना न्यायाधीश।
२. सदस्य (अर्थ/कानून विज्ञ) : अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य कानून वा वित्त विषयमा स्नातकोत्तर गरी सार्वजनिक खरिद/आयोजना व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको एक जना विज्ञ।
३. सदस्य (इन्जिनियरिङ विज्ञ) : इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरी आयोजना व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको एक जना विज्ञ।

न्यायाधिकरणको मुकाम काठमाडौँ उपत्यकामा रहनेछ र यसको क्षेत्राधिकार देशभर हुनेछ। सदस्यहरूको पदावधि ५ वर्षको हुनेछ।

मुख्य विशेषताहरू : ९० दिनमै फैसला, सर्वोच्चमा मात्र पुनरावेदन

  • ९० दिनभित्र मुद्दाको किनारा : न्यायाधिकरणमा मुद्दा दायर भएको मितिले ९० दिन (३ महिना) भित्र संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम अनिवार्य रूपमा मुद्दाको फैसला गरिसक्नुपर्नेछ।

  • मुद्दा परेकै भरमा काम रोक्न नपाइने : विधेयकको दफा २२ मा विशेष व्यवस्था गर्दै अदालत वा न्यायाधिकरणले अन्यथा आदेश दिएको बाहेक, मुद्दा दायर भएकै आधारमा मात्र सार्वजनिक पूर्वाधार निर्माणको काम रोक्न पाइने छैन।

  • सर्वोच्चमा विशेष इजलास : न्यायाधिकरणको फैसलामा चित्त नबुझे ३० दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। सर्वोच्च अदालतले पनि विषय विज्ञ न्यायाधीश रहने गरी 'विशेष इजलास' गठन गरेर ९० दिनभित्रै पुनरावेदनको किनारा लगाउनुपर्नेछ।

  • भिडियो कन्फरेन्सबाट बहस : मुद्दाको कारबाही तथा किनारा गर्न न्यायाधिकरणले आवश्यकताअनुसार श्रव्य–दृश्य (Video Conference) प्रविधिको प्रयोग गर्न सक्नेछ।

  • अदालतमा रहेका मुद्दा स्वतः सर्ने : ऐन प्रारम्भ हुनुअघि अदालत वा अन्य निकायमा विचाराधीन रहेका पूर्वाधारसम्बन्धी मुद्दाहरू न्यायाधिकरण गठन भएको १ महिनाभित्र न्यायाधिकरणमा हस्तान्तरण हुनेछन्।

कुन–कुन विवाद हेर्नेछ न्यायाधिकरणले ?

विधेयकको दफा ६ अनुसार पूर्वाधारसँग सम्बन्धित देहायका सबै विवाद न्यायाधिकरणको क्षेत्राधिकारभित्र पर्नेछन्:

  1. सार्वजनिक खरिद, सडक, जलविद्युत्, प्रसारण लाइन, विमानस्थल, खानेपानी, सहरी विकास तथा सूचना प्रविधिसम्बन्धी ठेक्का विवाद।

  2. संयुक्त उपक्रम (Joint Venture) का साझेदारहरू (स्वदेशी–विदेशी) बीचको विवाद।

  3. कार्यसम्पादन जमानत (Performance Bond) र अग्रिम भुक्तानी जमानत (Advance Payment Guarantee) सम्बन्धी विवाद।

  4. जग्गा प्राप्ति, मुआब्जा, भोगाधिकार र राइट अफ वे (Right of Way/सीमा क्षेत्र) सम्बन्धी विवाद।

  5. सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा सञ्चालित आयोजनासम्बन्धी विवाद।

  6. निर्माण व्यवसायी र परामर्शदाता, स्थानीय प्रभावित समुदाय, श्रमिक तथा आपूर्ति सामग्रीसम्बन्धी विवाद।

  7. ठेक्का रद्द, कालोसूची र क्षतिपूर्तिसम्बन्धी विवाद।

आदेश अटेर गरे ६ महिना कैद वा अवहेलनामा कारबाही

न्यायाधिकरणले माग गरेको जवाफ वा मिसिल समयमै नपठाउने अधिकारीमाथि कारबाही गर्न सक्नेछ। न्यायाधिकरणको आदेशको अवज्ञा गरेमा वा न्याय सम्पादनमा अवरोध पुर्‍याएमा ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कडा व्यवस्था मस्यौदामा गरिएको छ।

यस कानुनको कार्यान्वयनपछि नेपालमा राष्ट्रिय गौरव तथा रणनीतिक पूर्वाधार आयोजनाहरू कानुनी झमेलामुक्त भई समयमै सम्पन्न हुने र प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउनसमेत कानुनी विश्वास बढ्ने अपेक्षा सरकारले लिएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।